हाईलाइफको २० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीका सेयरधनीहरूले २ः१ अनुपात अर्थात् २ कित्ता सेयर हुने सेयरधनीले १ कित्ता सेयरका लागि आवेद दिन पाउनेछन् । कम्पनीको भदौ ११ गते सम्पन्न विशेष साधारण सभाले जारी पुँजीमध्ये जगेडामा रहेको सेयर हकप्रद सेयरका रूपमा बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । भदौ १३ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छकु सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

इष्टर्न साहाराले आइपीओ निष्कासन गर्ने

काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय कित्ताका दरले ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । साधारण सेयरको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था पुतलीसडक, काठमाडौंसँग द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । विसं २०७९ सालमा पब्लिक कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड केन्द्रीय कार्यालय बिर्तामोड झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा छ ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणहरूमा निष्कासन गर्न लागेको जनाएको छ ।