मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
काठमाडौं । विश्वप्रसिद्ध दक्षिण कोरियाको बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २० प्रतिशत आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको छ । एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा. विनोद साहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी (ईयूबी)सँगको सहकार्यमा े मिरा बायोटेकले अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको छ । नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा बैज्ञानिकहरूको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधीहरु उत्पादन गर्ने कम्पनी हो । हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधी उत्पादन गरिरहेको छ । यसबाहेक कम्पनीले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको सीईओ सुशिल पौडेलले जानकारी दिए । हाल यस कम्पनीको चुक्ता पुँजी ५२ करोड रुपैयाँ रहेको छ । भक्तपुरका चागुनारायणमा आफ्नै जग्गा र भवनमा सञ्चालन रहेको मिरा बायोटेकको अत्याधुनिक प्लान्ट औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।
क्रेस्ट माइक्रो लाइफको आईपीओले पायो ‘डबल बी’ रेटिङ
काठमाडौं । सर्वसाधारणमा सेयर निष्कासनको तयारीमा रहेको क्रेस्ट माइक्रो लाइफले क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट ‘आइसीआरए डबल बी’ रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको मानिन्छ । साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ लिमिटेड र आरविवि म्युचुअल फण्ड १ सँग मिति २०८१/०५/१७ मा सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनका लागि सेयर प्रत्याभुतीकर्ताको रूपमा नियुक्त समेत गरिसकेको छ । स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठूलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरूमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमांकन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दाबी भुक्तानी प्रक्रयिाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने बताइएको छ । यस कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँकोे ३० प्रतिशत अर्थात रु। २२ करोड करोड ५० लाख रुपैयाँ रकम बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा सार्वजनिक निष्कासन गर्ने घोषणा गरेको छ ।
झिनो अंकले बढ्यो नेप्से, निर्जीवन बीमा समूहमा उच्च आकर्षण
काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार भने झिनो अंकले बढेको छ । यस दिन नेप्से ६.९० अंकले बढेको छ । उक्त अंकको वृद्धिपछि नेप्से २८३०.१६ बिन्दुमा अडिएको छ । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यस दिन १३ अर्क ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १३ अर्ब १० करोडको कारोबार भएको थियो भने आइतबार १० अर्ब ५१ करोडको कारोबार भएको थियो । यस दिन १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घटेको छ । त्यस्तै, ५ कम्पनीको स्थिर रहेको छ । मंगलबार ५ समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्मै भएका छन् । सबैभन्दा धेरै निर्जीवन समूह ४.७८ प्रतिशतले बढेको छ । विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, जीवन बीमा २.२८, माइक्रोफाइनान्स ०.३६ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै फाइनान्स समूह १.५७ प्रतिशतले घटेको छ । बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८ तथा व्यापार समूह ०.४१ प्रतिशतले घटेको छ । यस दिन दश कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।