दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आज १३.०३ अंकले घटेर बजार २ हजार ६ सय ६७.४० बिन्दुमा झरेको छ । आज १८१ वटा कम्पनीको सेयर मूल्य घट्दा ५५ कम्पनीको मूल्य बढेको छ । त्यसैगरी, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन १ करोड ५० लाख कित्ता सेयरको किनबेच हुँदा ७ अर्ब ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै जानकी फाइनान्सको ६० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसैगरी, एनआरएन इन्फ्राइस्टक्सर एण्ड डेभलपमेन्टको ४० करोड रुपैयाँ, न्यादि ग्रुप पावरको ३६ करोड रुपैयाँको र बेस्ट फाइनान्सको २३ करोड बढीको सेयर कारोबार भएको छ । आज इन्भेष्टमेन्ट र उत्पादनबाहेक सबै उपसूचक घटेको छ ।

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सुरु, कार्की र अधिकारी पुगे मन्त्रालय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरु भएको छ । आज बिहान ८ बजेदेखि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता लिन सुरु गरिएको हो । बोर्ड अध्यक्ष सिफारिस समितिले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये अहिलेसम्म कृष्णबहादुर कार्की र डा. नवराज अधिकारी मात्रै अन्तर्वार्ताका लागि मन्त्रलायमा पुगिसकेको स्रोतले जनाएको छ । बोर्ड अध्यक्षका अर्का उम्मेदवार चिरञ्जीवी चापागाईंको भने अन्तर्वार्ताका लागि आउने नआउने केही टुंगालो नलागेको स्रोतको भनाइ छ । सिफारिस समितिले गत कात्तिक २९ गते एक सूचना जारी गर्दै तीनै जनालाई आज बोलाएको थियो । यसअघि गत असोज १८ गतेका लागि प्रस्तुतिकरणका लागि बोलाइएको थियो । तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी परेपछि स्थगति भएको थियो । अध्यक्ष नियुक्तिका लागि समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिइसकेका छन् । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ ।

१५.७८ प्रतिशत लाभांश बाँड्ने कोष व्यवस्थापनको घोषणा

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ । कोष व्यवस्थापनको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट करसहित १५.७८९५ प्रतिशतका दरले ४९ लाख २ हजार ३२३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर २९ गते बिहान साढे ११ बजे कृषि विकास बैंकको मुख्य कार्यालयमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।