लक्ष्य होल्डिङ्स र लक्ष्य क्यापिटलको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । लक्ष्य होल्डिङ्स र लक्ष्य क्यापिटलले लाभांश घोषणा गरेका छन् । दुइटै कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लक्ष्य होल्डिङ्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, लक्ष्य क्यापिटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद गरी कुल ३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साथै, यी दुइटै कम्पनीले लाभांश पारित गर्न पुस ६ गते ललितपुर पार्टी प्यालेस सातदोबाटो बिहान १० बजे तेस्रो वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीको सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, आर्थिक वर्ष २०८१÷८२ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ । लक्ष्य होल्डिङ्ग “१०,००० लगानीकर्ताहरुको जमघट” अभियान संचालन गरि बढीभन्दा बढी लगानीकर्ताहरुलाई लगानीका सूचनाको संजालमा राख्ने समूह हौं । पहिलो चरणको लक्ष्य अनुसार १० हजार लगानीकर्ताहरुको नामावली तयार पार्ने उदेश्य राखिएको थियो । जुन ३ महीनामै ९ हजार ६ सयभन्दा बढी लगानीकर्ताहरु आबद्ध भएको कम्पनीको भनाइ छ । १० हजार लगानीकर्ताहरुको नामावली संकलन गरि भविष्यमा आउने लगानीका अवसरहरुको सूचनाको लागि मात्र हो र यसको लागि कुनै शुल्क उठाईएको छैन । लक्ष्य होल्डिंङ्गसको १ अर्ब १५ करोड अधिकृत पूँजी र १ अर्ब चुक्ता पूँजी रहेको छ ।

बोर्डले अध्यक्ष पाएपछि लगानीकर्तामा उत्साह, ९ कम्पनीको मूल्यमा सर्किट, साढे ९ अर्बको कारोबार

काठमाडौं । पुँजी बजारमा बुधबार हरियाली छाएको छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाएसँगै बजारमा रौनकता छाएको हो । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएर बुधबारमात्रै कार्यभार सम्हालेका हुन् । साथै, नवनियुक्त अध्यक्ष श्रेष्ठले पुँजी बजारको विकास र लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् । जसले लगानकर्तामा उत्साह छाएको देखिन्छ । बोर्डले अध्यक्ष पाएसँगै लामो समयदेखि रोकिएका कामहरू अघि बढ्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४२ प्रतिशत अर्थात् ३८.८१ अंक बढेर २ हजार ७५५.४७ अंकमा बन्द भएको छ । साथै, आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १९९ कम्पनीको सेयर ११९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । साथै, विभिन्न ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । नेप्सेका अनुसार विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक,, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । तर, मिथिला लघुवित्त संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको देखिन्छ । यस लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात् १९६ रुपैयाँ घटेर १ हजार ७६४ रुपैयाँमा झरेको छ । आज जानकारी फाइनान्सको सेयर कारोबार धेरै भएको छ । यस कम्पनीको ३४ करोड १ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३३ करोड १६ लाख ३९ हजार रुपैयाँ, पिपुल्स हाइड्रोको २४ करोड ७२ लाख ९५ हजार रुपैयाँ, नेपाल फाइनान्सको २४ करोड १७ लाख ४२ हजार रुपैयाँ र सप्तकोशीको २२ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज फाइनान्स समूहबाहेक सबै समूहमा हरिायाली छ । बैंकिङ समूह ०.३२ प्रतिशत, विकास बैंक समूह ३.१८ प्रतिशत, होटल तथा पर्यटन समूह १.३६ प्रतिशत, जवलविद्युत समूह १.४६ प्रतिशत, लगानी समूह ०.७१ प्रतिशत, जीवन बीमा समूह २.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६३ प्रतिशत, लघुवित्त समूह ०.९० प्रतिशत, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत, निर्जीवन बीमा समूह १.१८ प्रतिशत, अन्य समूह ०.५६ प्रतिशत, व्यापार समूह ९.२७ प्रतिशत बढेको छ । तर, फाइनान्स समूह ०.४७ प्रतिशत घटेको छ ।

कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने- रोकिएको आईपीओ समयमै आउँछ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउन थाल्ने दावी गरेका छन् । बुधबार बोर्डमा कार्यभार सम्हाल्दै उनले यस्तो दावी गरेका हुन् । अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने पनि बताए । साथै उनले आफ्नो कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । नवनियुक्त अध्यक्ष श्रेष्ठले मंगलबार शपथ लिएका थिए । उनलाई अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराएका हुन् । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंसमेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । २०८० पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन रहँदै आएको थियाे ।