उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सोलाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।

१७ अंकले बढ्यो सेयर, ८ अर्ब बढीको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । यस्तै, ३०७ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने न्याग्दी ग्रुप पावर लिमिटेड रहेको छ । मंगलबार न्याग्दी ग्रुप पावरको २६ करोड ७४ लाख रुपैयाँ बढीको करोबार गरेको छ । साथै, जानकी फाइनान्स लिमिटेडको २६ करोड ५१ लाख, बेस्ट फाइनान्स कम्पनीको २४ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको २३ करोड ८७ लाख, एनआईसी एसिया बैंकको १७ करोड २५ लाख रुपैयाँ बढीको करोबार भएको छ । यस्तै, दिव्यश्वरी हाइड्रोपावरको लिमिटेड र इगंवा हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।