नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनकोे निरन्तरता
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको बैंकले जनाएको छ । कात्तिक १२ गते काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महाविर पुनका बीच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत श्री तिलक राज पाण्डेयले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।
नेप्सेमा ९९ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा (नेप्से) ९९ लाख कित्ता सेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद बापदको ९९ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजी ९९ करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
एनआइएमबि एसले ल्यायो धनतेरस योजना, १ हजार इकाई उपहार पाउने
काठमाडौं । एनआइएमबि एस क्यापिटलले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ । जसअन्तर्गत तीनजना भाग्यशाली विजेताहरूले १ हजार इकाई उपहारस्वरूप पाउनेछन् । यसका लागि ग्राहकहरूले एनआइएमबिबाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेशन गर्नुपर्नेछ । कार्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ । कार्तिक १३ गते राति ११:५९ बजेसम्म रजिस्ट्रेशन गरेकाेहरू मात्र लक्की ड्रमा पर्ने क्यापिटलले जनाएकाे छ । विजेताहरूको घोषणा कार्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुकमार्फत गरिनेछ । एनआइएमबि एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआइबिएल म्युचुअल फण्डअन्तर्गत विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रुपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै आएको छ ।