लक्ष्मी सनराइजको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २४ गते कमलपोखरी, काठमाडौंमा २४ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय बैंकले गरेको छ। अब सोहीअनुसारको वित्तीय विवरण प्रकाशन गर्नका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिने बैंकले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट उक्त वित्तीय विवरण स्वीकृतिका लागि लैजाने बैंकले निर्णय गरेको छ ।