गरिमा समृद्धि योजना खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा क्यापिटलको म्युचुल फण्डमा आवेदन दिने आज पुस ११ गथे अन्तिम दिन रहेको छ । पुस ७ गतेदेखि बिक्री खुला गरेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरिमा समृद्धि योजनामा आवेदन दिने आज अन्तिम दिन हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासनको स्वीकृति

काठमाडौं । नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ । बोर्डले कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ । हकप्रद निष्कासनबाट कम्पनीले करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनुपर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ छ ।

सिडिएस एण्ड क्लियरिङ्गको १ सय प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट१ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न पुस २८ गते बिहान ११ बजे सिडिएसकै कार्यालयमा १४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ । यस्तै, सिडिएसमा नेपाल सरकारको सेयर स्वामित्व कायम गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ ।