आज ६ अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार, दुई उपसूचकबाहेक सबै हरियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज १५.८३ अंकले बढेर बजार २ हजार ६ सय ८३.२४ बिन्दुमा झरेको छ । आज १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ कम्पनीको मूल्य घटेको छ । त्यसैगरी, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन १ करोड २२ लाख कित्ता सेयरको किनबेच हुँदा ६ अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै न्यादि ग्रुप पावरको ५४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसैगरी, बेस्ट फाइनान्सको २५ करोड, नेपाल फाइनान्स लिमिटेडको २० करोड र एनआरएन इन्फ्राक्टर एन्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड बढीको सेयर कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषबाहेक अन्य उपसूचक सबै हरियो छन् ।

मुक्तिनाथ क्यापिटलले मंसिर २० गतेदेखि म्युचुअल फण्ड बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड–१ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्री खुला गर्नेछ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले मंसिर २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

सेबोन अध्यक्षका लागि सन्तोष, मुक्तिनाथ र नवराजको नाम सिफारिस, सोमबार नियुक्त हुन सक्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो । स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरेको हो । तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएपछि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने सम्भावना छ । आइतबार धितोपत्र बोर्डका कार्यकारी निर्देशक अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले कार्ययोजना प्रस्तुत गरेका थिए । पाँच जनाको सर्टलिस्टमा परेका नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तर्वार्तामा उपस्थित भएका थिएनन् । सन्तोषनारायण र मुक्तिनाथले भने पहिलोपटक नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । सन्तोषनारायण नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ ।