बढ्यो सेयर बजार, ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिर्वतन आएको छैन । सोमबार ३११ कम्पनीको १ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिभर फल्स पावरको भएको छ । रिभरको २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । हिमालयन पावर पाटनरको १८ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको १५ करोड र सिन्धु बिकास बैंकको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह ०.२०, विकास बैंक ०.६०, वित्त ०.५३, जलविद्युत् ०.०२ र लघुवित्त समूह ०.०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन तथा प्रशोधन १.६८, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.२३, व्यापार १.०६ र अन्य समूह २.१३ प्रतिशतले बढेको छ । आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै ९.०५ प्रतिशतको वृद्धि देखिएको छ । आज ४ वटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, सुपर मादी हाइड्रो, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र एनआइसी एसिया डिभेन्चरमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

क्रेस्ट माइक्रो लाइफले माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि सार्वजनिक प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस निष्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते सेयर निष्कासनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमै सेयर निष्कासन गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

नेप्सेमा सानिमा रिलायन्स लाइफको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ । आइतबार कम्पनीको १८ दशलमव ३८११ प्रतिशतका दरले हुन आउने ७६ लाख ९० हजार ६५२ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको सातौँ वार्षिक साधारणसभाबाट भएको उक्त बोनस सेयर सूचिकृत भएको हो ।