क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

१० अंकले घट्यो नेप्से परिसूचक, न्यादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीमा भने कुनै परिवर्तन आएको छ । सोमबार ३१२ कम्पनीको १ करोड ७२ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ । सिन्धुको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २६ करोड, माउन्टेन इनर्जी नेपालको २६ करोड र हिमालयन रिइन्स्योरेन्सको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज न्यादी हाइड्रोपावको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरले हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले सेयरधनीहरूलाई १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। आइतबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आव २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्कासनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडद्वारा गरिने छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २०६९/०५/३१ गते दर्ता भई जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका विभिन्न परियोजनाहरूमा लगानी गर्दै आएको छ ।