६ महिनामा सेयरबाट ९ अर्ब ८२ करोड पुँजीगत लाभकर संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२को ६ महिनामा सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । पुस मसान्तसम्म सेयर बजारबाट ९ अर्ब ८२ करोड १५ लाख १२ हजार ३५४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो । ६ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर र सबैभन्दा कम पुस महिनामा पुँजीगत लाभकर संकलन भएको सिडिएससीले जनाएको छ । सिडिएससीका अनुसार मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख २३ हजार ५१४ रुपैयाँ लाभकर उठेको छ । यस्तै पुस महिनामा ५८ करोड ७ लाख ८५ हजार ४५८ रुपैयाँ लाभकर उठेको छ । साउन महिनामा ४ अर्ब २७ करोड ५३ लाख ९१८ रुपैयाँ, भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६०७ रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार ४६५ रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार ३८९ रुपैयाँ संकलन भएको छ । सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
स्वास्थ्यकर्मीलाई सेयरमा लगानी गर्न प्रोत्साहन, ५ लाखको पोर्टफोलियो हुनेले सेवा लिन सक्ने
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागि हुन सकिन्छ । यसमा बार्षिक सेवा शुल्क पुर्ण रुपमा निःशुल्क गरिएको छ । लगानीमा भएको नाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिने बताएको छ । साथै नाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ । यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निःशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै सेयर बजार सम्बन्धि निःशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।
डोल्टी पावरको सेयर मूल्यमा सकारात्मक सर्किट, न्यादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार पाँच सय ९५.६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता सेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह ०.८१, वित्त ३.४८, लगानी ०.०७, लघुवित्त ०.५२, म्युचुअल फण्ड ०.१७ र निर्जीवन बिमा ०.४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक १.०८, होटल तथा पर्यटन १.६३, जलविद्युत् १.७६, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन ०.४८, व्यापार ०.०१ र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ४९ लाख ४४ हजार सात सय १८ रुपैयाँ कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार चार सय २१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।