ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सेयरमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गर्ने छ । कम्पनीले ५४ हजार कित्ता सेयर कर्मचारी कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ । १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । आवेदन धितोपत्र बोर्डबाट आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
५२ अंकले बढ्यो सेयर बजार, सबै उपसमूहमा हरियाली
काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा कायम भएकोा छ । आज ३२२ स्टकको ९० हजार ६९६ पटक कारोबारमा एक करोड ७६ लाख ९२ हजार ८१९ सेयर खरिद-बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहमै हरियाली देखिएको छ । सबैभन्दा धेरै अन्य उपसमूहको परिसूचक बढेको छ । उक्त उपसमूह ४.२४ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ १.३२, विकास बैंक २.७४, वित्त ०.८९, होटल तथा पर्यटन २.७१, जलविद्युत २.१२, लगाानी ३.८२, जीवन बीमा १.८९, उत्पादन ०.०८, माइक्रोफाइनान्स १.०७, म्युचल फण्ड ०.४९, नीर्जीवन १.०० र व्यापार २.४५ प्रतिशतले बढेको छ । मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्टी पावर सेयरको कम्पनीमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, बारही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.२१ प्रतिशतका दरले गुमाएका छन् । कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६१ करोड ३६ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको ४१ करोड २९ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ । अन्य कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख ९५ हजार, सीईडिबी होल्डिंग्स २९ करोड ४२ लाख र सप्तकोशी विकास बैंकको २५ करोड ८ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा मंगलबार ललितपुरमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरणहरू पारित गर्नुको साथै आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा योगराज कँडेल शर्मा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाले आगामी दिनहरूमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्ता पुँजी पुर्याउने गरी कार्य गर्ने जनाएकाे छ । साथै सेयरधनीहरूले उठान गरेका जिज्ञासाहरूको समाधान संस्थाका अध्यक्ष एवम् सभाका सभापति प्रधानले गरेका थिए । निजी क्षेत्रको लगानीबाट पहिलो फाइनान्स कम्पनीको रूपमा नेपाल फाइनान्स लिमिटेड २०४९ सालमा स्थापना भएको थियो । संस्थाका हाल देशका विभिन्न स्थानमा रहेका १२ वटा शाखा कार्यालय र काठमाडौंको कालीमाटीमा रहेका एक्सेन्टेन्सन काउण्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।