सेयर बजारमा ५ महिनायताकै उच्च कारोबार, ‘नयाँ गभर्नरलाई अग्रिम स्वागतको संकेत’
काठमाडौं । साताको पहिलो करोबारको दिन अर्थात आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २०२ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३० कम्पनीको २ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ कराेड रुपैयाँ बढीको कारोबार भएको छ । यो कारोबार पाँच महिनायताकै बढी हो । आइतबार सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३४ करोड, हिमालयन पावरको पार्टनरको २९ करोड, सिन्धु विकास बैंकको २९ करोड र हिमालयन रिइन्स्योरेन्सको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उन्नत्ती सहकार्य लघुवित्त, गोल्बल आइएमइ लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट, ग्रामिण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशतले बढेको छ । आज नेप्से परिसूचक सँगै कारोबार रकम पनि वृद्धि भएकाले अब बजारले नयाँ गति लिन सुरु गरेको लगानीकर्ताहरू बताउँछन् । सेयर बजारका छोटेलाल रौनियारले बजारसँगै कारोबार पनि उच्च वृद्धि भएकाले बजार अब उकालो गतिमा अघि बढेको बताउँछन् । उनले बैंकमा अत्यधिक तरलता रहेको र ब्याजदर पनि न्यून रहेका कारण बजार बढ्नुको विकल्प नै नरहेको बताए । बजार बढ्नका लागि सबै वातावरण ठीकठाक रहेकाले र नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आउने समय नजिकिएकाेले बजार बढ्न थालेको उनको भनाइ छ । उनले नयाँ गभर्नरलाई आजको बजारले अग्रिम स्वागत गरेको धारणाा राखे । उनले भने, ‘हालका गभर्नरले लगानीकर्तामैत्री नीति ल्याउन सक्नु भएन, त्यसैले पनि बजारले नयाँ गभर्नरकाे स्वागतमा पर्खिरहेकाे छ, नयाँ गभर्नरलाई अग्रिम स्वागत गर्दै बजार वृद्धिको बाटोमा अघि बढेको हो ।’ हालका गभर्नर अधिकारीको कार्यकाल आगामी चैत २३ गतेदेखि सकिँदैछ । नयाँ गभर्नर आएपछि सेयर बजार बढ्ने हल्ला बजारमा चलिरहेको छ । । यस्तै, सेयर बजारकी लगानीकर्ता राधा पाेखरेलले पनि बजार बढ्नका लागि सबै वातावरण ठीकठाक रहेको दाबी गरेकी छन् । अत्यधिक तरलता र न्यून ब्याजदर रहेकाले बजार सकारात्मक दिशातर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ । यस्तै, उनले वर्तमान सरकारकाे लामाे समयसम्म सहकार्य रहने हल्लाले पनि लगानीकर्तामा सकारात्मक मनोबल बढेकाे र बजार पनि बढेकाे हुन सक्ने धारणा राखिन् ।
लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त
काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्सको तर्फबाट कम्पनीका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिषनारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आईपीओ जारी गर्ने जनाएको छ । लामिनार टायल्स नेपालको पहिलो र एक मात्र सत्प्रतिशत भिट्रीफाइड टायल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।
आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड, साढे ४ हजारलाई १ लाख १४ हजार कित्ता
काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ । निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार कम्पनीको ऋणपत्र आइतबार बाँडफाँड गरिएको हो । कम्पनीले माघ ९ गतेदेखि १३ गतेसम्म ३० करोड रुपैयाँको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८८’ ऋणपत्र जारी गरेको थियो । कम्पनीले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको थियो । जसमध्ये १८ करोडको ऋणपत्र परिपत्र विधिबाट र १२ करोडको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको परिपत्र बिधिमार्फत जारी गरिएको ऋणपत्रमा ३ लाख कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ । कम्पनीले समानुपाति रुपमा १ लाख ८० हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको कम्पनीको भनाइ छ । यस्तै, सर्वसाधारणतर्फ सामूहिक लगानी कोषको लागि छुट्याइएको ६ हजार कित्ता बाँडफाँड गरी बाँकी रहेको १ हजार १४ हजार कित्ता ऋणपत्र बिक्री खुला गरिएका थियो । उक्त ऋणपत्रका लागि ७ हजार २४७ जना आवेदकबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको कम्पनीले जनाएको छ । स्वीकृत विवरणपत्रमा भएको व्यवस्थाअनुसार गोलाप्रथा विधिद्वारा ४ हजार ५६० जना आवेदकलाई १ लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । ७ वर्ष अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ९ प्रतिशत तोकिएको छ ।