जीवन विकास लघुवित्तको दोस्रो ठूलो सेयरधनी बाहिरिँदै, प्रभुले बेच्दै ४४ करोडको सेयर

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । लघुवित्तमा क्यापिटलको ९.०५ प्रतिशत अर्थात् १२ लाख १९ हजार २७९ कित्ता सेयर स्वामित्व छ । जसमध्ये क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले उक्त सेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकेको छ । यस आधारमा क्यापिटलले लघुवित्तको ४४ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले आज माघ २७ गतेदेखि फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा बोलपत्र पेश गर्दा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

१९ प्रतिशतले घट्यो सानिमा माई हाइड्रोपावरको खुद नाफा

काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमाको कम्पनीको खुद नाफा १९.४३ प्रतिशतले घटेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २६ करोड ९१ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ३३ करोड ४१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीका अनुसार विद्युत विक्री आम्दानी घट्दा नाफा खस्किएको हो । विद्युत विक्री आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ४९ करोड ९२ लाख रपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ४० करोड ६३ लाख रुपैयाँ रहेको छ । बैंकको व्याज घट्दा वित्तीय लागत गत वर्षको दोस्रो त्रैमाससम्म ५ करोड रहेकोमा चालु आवको सोहि अवधिमा ४ करोडमा झरेको छ । प्रति सेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा रहेको छ । गत आवको सोहि अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ८२ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफामा समेत गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ३६ करोड ९५ लाख रुपैयाँ रहेको छ । चालु आवको सोही अवधिमा सञ्चालन मुनाफा २७ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्त्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।