उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ । सम्झौताअनुसार अबदेखि नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमार्फत उपकार लघुवित्तका सेयरधनीहरूले गर्ने सम्पूर्ण सेयर सम्बन्धी प्रक्रिया एनआईसी एशिया क्यापिटलमार्फत हुनेछन् । सेयर रजिष्ट्रार सेवाअन्तर्गत सेयर अभिलेख राख्ने, दाखिला–खारेज गर्ने, सेयरधनी लगत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण कार्यहरू आगामी भदौ १२ गतेदेखि एनआईसी एशिया क्यापिटल, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौंमार्फत सञ्चालन हुने उपकार लघुवित्तले जनाएको छ । यस निर्णयले उपकार लघुवित्तका सेयरधनीहरूलाई अझ सहज, व्यवस्थित र पारदर्शी सेवा उपलब्ध हुने विश्वास लिइएको छ ।
नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।
एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने समय लम्बियो
काठमाडौं । एनआईसी एशिया क्यापिटलको इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने समय लम्बिएको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा अब भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले ५० करोड रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले ५ करोड इकाई बिक्री गरेको हो । क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । कम्पनीको उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।