सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, १ कित्ता हुनेले ०.८० कित्ता पाउने

काठमाडौं । सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

विकास हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट, ५९ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७७७ बिन्दुमा झरेको छ । आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छ । बुधबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २१ करोड, चन्द्रागिरी हिल्सको १९ करोड, युनाइटेड मोदीको १२ करोड ५५ लाख र राधी विद्युतको १२ करोड र २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  बुधबार होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढेको छ भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशतले घटेको छ । बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रहेको छ । बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशतले घटेका छन् ।  

मुख्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका सेयर बिक्री गर्दै

काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था तथा वाणिज्य बैंकका संस्थापक समूहका गरी जम्मा ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । बिक्रीमा रहेका सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ र न्यूनतम आवेदन ५ हजार कित्ता तोकिएको छ । त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ०६५ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु ३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता तोकिएको छ । यस्तै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३३० रुपैयाँ र न्यूनतम आवेदन १ हजार कित्ता रहेको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ता सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र न्यूनतम आवेदन १ हजार ३१५ कित्ता तोकिएको छ । इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम १०० रुपैयाँ तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं कार्यालयबाट प्राप्त गरी भदौ २४ गते अपराह्न ३:०० बजेभित्र बुझाउनुपर्नेछ । प्राप्त बोलपत्रहरु भदौ २५ गते बिहान ११:०० बजे कार्यालयमा खोलिनेछन् । शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइनेछ भने बाँकी रहेका सेयर उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदातालाई बिक्री गरिनेछ । मुख्तिनाथ क्यापिटलले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार अघि बढाइने जनाएको छ ।