भदौ १८ गतेदेखि आरविवि फोकस ४० म्युचुअल फण्ड बिक्री गर्ने
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्गले भदौ १८ गतेदेखि आरविवि फोकस ४० म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरविवि फोकस ४० बिक्री गर्ने भएको हो । कम्पनीले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्नेछ । कम्पनीको म्युचुअल फण्डमा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको इकाईमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज १ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । केयर रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म सागर डिष्टिलरीको सेयर खरिद गर्न सक्ने
काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज भदौ १ गते अन्तिम दिन रहेको छ । साउन २८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
प्रभु सेलेक्टको १२ प्रतिशत र प्रभु स्मार्टको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । प्रभु क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले प्रभु म्युचुअल फण्ड अन्तर्गतका २ वटा फण्डको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रभु सेलेक्ट फण्डका इकाईधनीलाई करसहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।