६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष  नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीन मान सिंह प्रधान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्र रहेका छन् । नेपाल सरकारले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानहरूको उपकुलपतिमा नियुक्त गरेको हो ।

भक्ति थापाको बाल्यकालसँग जोडिएको हरसिङडाँडा, गण्डकीकै उदाउँदो गन्तव्य

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम थपिएको छ । नेपाल विद्युत् प्राधिकरण, लमजुङ वितरण केन्द्रले केही दिनअघि हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गरेसँगै साँझपख डाँडा झिलीमिली बन्न थालेको छ । लामो समयसम्म सोलारको भरमा दैनिक काम चलाउँदै आएका स्थानीयले अहिले नियमित विद्युत् पाएका छन् । यसले स्थानीयको दैनिकीमात्र सहज बनाएको छैन, पर्यटन व्यवसायमा नयाँ ऊर्जा दिएको छ । प्राधिकरण लमजुङका प्रमुख सोवित बहादुर क्षेत्रीका अनुसार पर्यटकीय सम्भावना भएका स्थानलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्ने योजनाअनुसार हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइन पुर्याइएको हो । उनका अनुसार यसअघि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । अहिले करिब १० लाख रुपैयाँमा १८ वटा पोल गाडेर विद्युत् विस्तार गरिएको हो । आगामी दिनमा बजेटको उपलब्धताअनुसार जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पनि विद्युत् सेवा विस्तार गरिने उनले बताए । हरसिङडाँडामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आभएका पूर्णबहादुर गुरुङका अनुसार विद्युत् पुगेपछि स्थानीय र पर्यटक दुवैलाई सहज भएको छ । ‘पहिले सोलारको भरमा काम चलाउनुपर्थ्यो । अहिले बिजुली आएपछि पर्यटकलाई सेवा दिन सहज भएको छ । मोबाइल चार्ज गर्न, खाना पकाउने, रातिको उज्यालो र अन्य सेवा प्रभावकारी भएका छन् । डाँडा झिलीमिली बनेपछि यहाँको आकर्षण पनि बढेको छ,’ उनले भने । सो स्थानमा केही वर्षअघि पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवाले संयुक्त रूपमा करिब ११ लाख रुपैयाँ लगानी गरी ३५ जनासम्म अट्ने हल निर्माण गर्दै खाना र बासको व्यवस्था गरेका थिए । स्थानीय युवाको यही पहलपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । अहिले विभिन्न मौसममा सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । विद्युत् पुगेपछि पर्यटन व्यवसाय थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । स्थानीय कृषि तथा पशुपालनबाट उत्पादित वस्तुको बिक्री बढ्ने, युवाले गाउँमै रोजगारी पाउने र गाउँको आर्थिक गतिविधि विस्तार हुने विश्वास स्थानीयवासीको छ । पहिलेजस्तो साँझ पर्नासाथ सुनसान हुने हरसिङडाँडा अहिले उज्यालोले मनमोहक भएको छ । हरसिङडाँडामा पुग्ने पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्यबाट लोभिने गरेका छन् । उनीहरूका अनुसार मनास्लु हिमशृङखला, बुद्ध हिमाल, डा हर्क पिक, मस्र्याङ्दी नदीको नागबेली, घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार तथा तनहुँको बन्दीपुरसम्मको दृश्यले मनै लोभ्याउँछ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले यहाँ पुगेका जोकोहीलाई फेरि फर्केर आउन मन लाग्ने बनाउँछ । पर्यटकहरूका अनुसार हरसिङडाँडा घुमफिरका लागि मात्र होइन, साथी भाइ र परिवारसँग एक-दुई रात बसेर रमाउन मिल्ने उत्कृष्ट गन्तव्य बनेको छ । यहाँको शान्त वातावरण, स्थानीय आतिथ्यता, प्राकृतिक सौन्दर्य र भक्ति थापासँग जोडिएको इतिहासले थप मनोरम बनाएको छ । नयाँ पुस्ताले नेपालको वीर इतिहास बुझ्न पनि हरसिङडाँडा एकपटक पुग्नै पर्ने स्थल भएको उनीहरू बताउँछन् । हरसिङडाँडाको अर्को महत्त्वपूर्ण पक्ष यसको ऐतिहासिक महत्व हो । वि. सं १८०२ मा मर्स्याङ्दी गाउँपालिका-३ खुदीको ढुङ्गेबेँसीमा जन्मनुभएका राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालका धेरै समय यही डाँडामा गाईवस्तु चराउँदै बिताउनुभएको इतिहासमा उल्लेख छ । सोही स्थानमा उहाँले छेलो हान्ने, साथीहरूसँग खेल्ने र गाउँको परिवेशमा हुर्किने अवसर पाउनुभएको स्थानीयको विश्वास छ । भक्ति थापाको वीरताको सम्मानस्वरुप लमजुङका विभिन्न स्थानमा उहाँका सालिक तथा स्मृति पार्क निर्माण गरिएका छन् । तर उनको बाल्यकाल बितेको हरसिङडाँडाले भने अहिलेमात्र विकासको लय समात्न थालेको छ । सडक, विद्युत् र पर्यटन पूर्वाधार विस्तारसँगै यो स्थलको महत्व झन् बढ्दै गएको स्थानीय बताउँछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार हरसिङडाँडा गाउँपालिकाको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्य हो । राष्ट्रिय विभूति भक्ति थापाको इतिहाससँग जोडिएको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने योजना गाउँपालिकाले अघि बढाएको उनले बताए । उनका अनुसार हरसिङडाँडासम्म पुग्ने सडकलाई थप स्तरोन्नति गर्ने, पर्यटकलाई सहज हुने पूर्वाधार निर्माण गर्ने, आवश्यक बजेट व्यवस्थापन गर्ने तथा देशव्यापी रूपमा प्रचारप्रसारलाई प्रभावकारी बनाउने तयारी भइरहेको छ । विद्युत् पुगेपछि पर्यटन विकासले थप गति लिने विश्वास व्यक्त गर्दै उनले स्थानीय सरकार यस क्षेत्रलाई गण्डकी प्रदेशकै आकर्षक ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष गुरुङले विद्युत् सेवा विस्तारले पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने बताए । पर्यटकको सङ्ख्या बढ्दै जाँदा स्थानीय उत्पादनले बजार पाउने, होटल तथा होमस्टे व्यवसाय विस्तार हुने, युवाले गाउँमै रोजगारी सृजना गर्ने र समग्र गाउँको आर्थिक गतिविधि चलायमान बन्ने उनको विश्वास छ । स्थानीयका अनुसार केही वर्षअघिसम्म सुनसान देखिने हरसिङडाँडा अहिले विस्तारै चहलपहलले भरिन थालेको छ । सडक पुगेको छ, विद्युत् पुगेको छ, बास र खानाको व्यवस्था भएको छ । थपिँदो पूर्वाधारले एक दिन घुमेर फर्किनेमात्र होइन, एकदुई रात बसेर प्राकृतिक सौन्दर्य, हिमालको दृश्य र स्थानीय संस्कृतिको अनुभव लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । इतिहास, प्रकृति, संस्कृति र आधुनिक पूर्वाधारको सुन्दर सङ्गम बनेको हरसिङडाँडा अब केवल भक्ति थापाको बाल्यकालसँग जोडिएको ऐतिहासिक स्थलमात्र होइन, उज्यालोसँगै नयाँ सम्भावनाको ढोका खोल्दै अघि बढिरहेको पर्यटकीय गन्तव्य पनि बनेको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र स्थानीय आतिथ्यतालाई एकैसाथ अनुभव गर्न चाहनेका लागि हरसिङडाँडा आज लमजुङको मात्र होइन, गण्डकी प्रदेशकै उदाउँदो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विकासका योजनाले निरन्तरता पाए र आवश्यक पूर्वाधार थपिँदै गए, राष्ट्रिय विभूति भक्ति थापाको सम्झना बोकेको यो डाँडा निकट भविष्यमै नेपालको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको सूचीमा दरिन सक्ने प्रबल सम्भावना देखिन्छ ।

नेपाली स्टार्टअपलाई विश्व मञ्चमा पुर्‍याउन द ब्रिटिश कलेज र क्यान महासंघको सहकार्य

काठमाडौं । स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर–२०२६ आयोजना गर्न द ब्रिटिश कलेज (टीबीसी) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच रणनीतिक साझेदारी भएको छ । दुवै संस्थाबीच भएको समझदारीले नेपाली स्टार्टअप तथा नवप्रवर्तनकारी युवा उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै देशमा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार क्यान महासंघले ‘स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर–२०२६’ को रणनीतिक आयोजना साझेदारको भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं सीईओ चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले यो सहकार्यलाई केवल प्रतिस्पर्धामा सीमित नभई देशभर रहेका नवप्रवर्तनकारी सोच भएका युवालाई व्यावसायिक रूपमा अघि बढाउने अभियानका रूपमा लिएका छन् । साझेदारीअन्तर्गत सातै प्रदेशका सम्भावनायुक्त स्टार्टअप पहिचान गर्न प्रतियोगिता सञ्चालन गरिने, उद्योगका अनुभवी व्यक्तिसँग मेन्टरसिपको व्यवस्था गरिने तथा स्वदेशी र विदेशी लगानीकर्तासँग जोड्ने पहल गरिने जनाइएको छ । ग्रुप सीईओ राजन कँडेलले नेपालको आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य आधार भएको उल्लेख गर्दै यस सहकार्यले नेपाली स्टार्टअपलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसर प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म उपलब्ध गराउने बताए । यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सहकार्यले नेपाली प्रविधि उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । पेगासस टेक भेन्चर्सले आयोजना गर्ने स्टार्टअप वर्ल्डकप विश्वका ६० भन्दा बढी देशमा सञ्चालन हुने विश्वकै प्रतिष्ठित स्टार्टअप प्रतिस्पर्धामध्ये एक हो । नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यहाँ विजेताले १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँभन्दा बढी) बराबरको लगानी पुरस्कार प्राप्त गर्ने अवसर पनि हुनेछ । आयोजकका अनुसार यस कार्यक्रमले नेपाली स्टार्टअपलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुका साथै डिजिटल अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र ‘ब्रान्ड नेपाल’लाई विश्व बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।