प्रतिनिधि सभा निर्वाचन : १ हजार ८६५ उम्मेदवारले खोले बैंक खाता
काठमाडौं । निर्वाचन प्रयोजनका निम्ति १ हजार ८६५ उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले आजसम्ममा १ हजार ८६५ उम्मेदवारले खाता खोलेको विवरण प्राप्त जानकारी भएको बताए । उनका अनुसार १ हजार ५४१ उम्मेदवारले अझै बैंक खाता खोलेका छैनन् । १ सय ६५ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन् । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । ११ दलले बैंक खाता खोल्न सिफारिस लगेको आयोगले जनाएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
भिडियो सन्देश जारी गर्दै ओलीले भने– निर्माणको बाटोमा अघि बढ्ने कि भत्काउने कित्ता स्पष्ट पारौं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश यतिबेला निर्माण वा विध्वंसमध्ये एक बाटो रोज्ने निर्णायक मोडमा पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले जनतालाई स्पष्ट कित्ता तय गर्न आह्वान गर्दै स्थिरता, सुशासन र विकासको पक्षमा उभिन आग्रह गरेका छन् । भिडियो सन्देशमा ओलीले पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकलाई अन्योल र अस्थिरतामा धकेलेको दाबी गरेका छन् । उनले सरकार परिवर्तनको शृङ्खला, नीतिगत अनिश्चितता र विकास आयोजनामा देखिएको ढिलाइलाई विध्वंसतर्फको संकेत भन्दै आलोचना गरे । उनल भने, ‘हामीले बनाएको आधार भत्काउने कि त्यसलाई अझ मजबुत बनाउने ? यही प्रश्नको उत्तर दिनुपर्ने बेला आएको छ ।’ ओलीले आफ्नो कार्यकालमा अघि बढाइएका पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजनाहरू स्मरण गराउँदै ती कामहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् । सडक, पुल, जलविद्युत र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई उनले निर्माणको बाटोको उदाहरणका रूपमा प्रस्तुत गरे । ‘विकासका इँटा थप्ने काम सजिलो छैन, तर भत्काउन सजिलो हुन्छ,’ ओलीले आफ्नो सन्देशमा भनेका छन् । उनले लोकतान्त्रिक प्रतिस्पर्धालाई सम्मान गर्ने तर अराजकता र निरन्तर अवरोधको राजनीति स्वीकार्य नहुने स्पष्ट पारे । ‘देशलाई स्थायित्व चाहिएको छ । स्थायित्व बिना समृद्धि सम्भव छैन,’ ओलीको भनाइ रहेको छ । ओलीले युवापुस्तालाई विशेष सन्देश दिँदै देशभित्रै अवसर सिर्जना गर्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । रोजगारी, उद्यमशीलता र प्रविधिमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै उनले निर्माणको यात्रामा युवाको साथ अपरिहार्य रहेको बताए । त्यस्तै, उनले आसन्न राजनीतिक निर्णयहरू, चाहे निर्वाचन होस् वा नीतिगत बहस सबैमा जनताको भूमिका निर्णायक हुने बताए ।
निर्वाचनपूर्व मन्त्रिपरिषद् बैठक अनिश्चित, दीर्घकालीन निर्णय रोक्न मुख्यसचिव अर्यालको सतर्कता
काठमाडौं । सरकारका मुख्य सचिव सुमनराज अर्यालले अनिच्छा देखाएपछि सोमबार बस्ने तय गरिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ । निर्वाचनको पूर्वसन्ध्यामा सरकारले दीर्घकालीन महत्त्वका प्रस्तावहरू अघि बढाउने तयारी गरेको सूचना पाएपछि मुख्यसचिव अर्यालले सकेसम्म निर्वाचन परिणाम सार्वजनिक नहुँदासम्म मन्त्रिपरिषद् बैठक नराख्न सुझाव दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार केही मन्त्रालयहरूले नीतिगत तथा दीर्घकालीन असर पार्ने निर्णयका प्रस्तावहरू क्याबिनेटमा लैजाने तयारी गरेका थिए । ती प्रस्तावहरू निर्वाचन आचारसंहिताको भावना विपरीत हुन सक्ने आशंकासहित मुख्यसचिवले सतर्कता अपनाउन आग्रह गरेको बताइएको छ । मतदानको दिन आउन लागेको र मौन अवधि सुरु हुन लागेको अवस्थामा नयाँ नीति, दीर्घकालीन सम्झौता वा ठूलो आर्थिक दायित्व सिर्जना गर्ने निर्णयहरू भए भने मुख्यसचिव जिम्मेवार हुनपर्ने भएकोले अर्याल निर्वाचन पहिले मन्त्रिपरिषद बैठक नहोस् भन्ने पक्षमा रहेका छन् । यस्तै, संवेदनशील समयमा बैठक बसेर विवादास्पद निर्णय भए त्यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकोले निजामती प्रशासनको नेतृत्वले भोलिको मन्त्रिपरिषद बैठक नहोस् भन्ने चाहेको छ ।