कांग्रेसले चुनावकेन्द्रित समितिहरू गठन गर्न परिपत्र गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावकेन्द्रित विभिन्न समितिहरू गठन गर्न प्रदेश, जिल्ला र क्षेत्रीय तहका १६५ वटै कार्यसमितिलाई परिपत्र गरेको छ । पार्टीका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बुधबार (आज) विभिन्न निकायहरूलाई चुनावी समिति गठन गर्न निर्देशन दिदै परीपत्र गरिएको प्रवक्ता देवराज चालीसेले जानकारी दिए।  उनले परिपत्रमार्फत निर्वाचन अभियान व्यवस्थित गर्न सबै तहमा समितिहरू र संरचनाहरू तत्काल गठन गर्न आग्रह पनि बताए । परिपत्रमा कांग्रेसले निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति र स्थानीय तह समन्वय समिति गठन गर्न निर्देशन गरेको छ । यसैगरी, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघसंस्था समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति र निजी क्षेत्र समन्वय समिति पनि कांग्रेसले गठन गर्ने जनाइएको छ । कांग्रेसले हालै १६५ क्षेत्रमै आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न चुनावी तयारीलाई तीव्र पार्नसमेत निर्देशन गरेको छ ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ ।  निर्वाचन आयोगका पदाधिकारीहरूले बुधबार (आज) राष्ट्रपति भवन शीतलनिवासमा पुगेर निर्वाचन प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा निर्वाचन प्रक्रिया, मतदानको अवस्था तथा अन्तिम परिणामसम्बन्धी विवरण समेटिएको छ । माघ ११ गते सम्पन्न निर्वाचनमा २ करोड ४० लाख ६६ हजार खर्च भएको आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको तथा निर्वाचनका विविध विषय प्रतिवेदनमा समेटिएको आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले  जानकारी दिए ।

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।मंगलबार (आज) श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् ।  अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठ पार्टीमा प्रवेश गरेको जानकारी दिए।  श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद थिए । सांसद रहँदा स्वास्थ्यमन्त्री बन्ने उद्देश्यले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।  उक्त अडिओ सार्वजनिक भएलगत्तै रास्वपाले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।