यस्तो छ धरहरा र काठमाडौं टावरमा बनाइएको निःशुल्क पार्किङ (फोटो फिचर)
काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरा र काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा सवारी साधन पार्किङ गर्न मिल्ने व्यवस्था गरेको छ । न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गर्दै महानगरले विकल्पको रुपमा उक्त दुई ठाउँमा निःशुल्क रूपमा पार्किङ सेवा दिने भएको हो । यससँगै धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबार अर्थात माघ १४ गतेदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको छ । यससँगै सवारी चालकलाई सहज रूपमा उक्त क्षेत्रमा पार्किङ गर्न पाउने भएका छन् । महानगरका अनुसार उक्त तलामा १५ सयवटा बाइक तथा स्कुटर पार्किङ गर्न मिल्ने छ । हाल उक्त स्थानमा गाडि पार्किङ भने गर्न नमिल्ने बताइएको छ । यसअघि गत सातामात्रै महानगरले काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइ सकेको छ । जहाँ कार र बाइक गरेर १५ सय बढी पार्किङ गर्न मिल्ने महानगरले जानकारी गराएको छ । त्यस्तै, हाललाई निःशुल्क सेवा दिइएपनि पछि शुल्क लाग्न सक्ने बुझिन्छ ।
सौराहामा रमाउँदै पर्यटक (फोटो फिचर)
काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहेको देखिन्छ । सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोलामा डुङगा सयर गरेर पर्यटक मनोरञ्जन लिने गर्दछन् । पर्यटक हात्ती चढेर सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोला तरेर जङ्गल अवलोकन गर्ने गर्दछन् । रासस
अस्तव्यस्त ठमेलका सडक, यात्रुलाई सास्ती (फोटो फिचर)
काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रका सडकहरु अस्तव्यस्त देखिएका छन् । ठाउँठाउँमा ढल हाल्ने कार्य भइरहेको हुँदा उक्त सडक अस्तव्यस्त बनेका हुन् । अस्तव्यस्त सडकका कारण पर्यटक लगायत हिड्ने यात्रीहरुले सास्ती खेपिरहेका छन् ।