वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ (फोटो फिचर)
काठमाडौं । वसन्तपुरमा आइतबार होलीको ‘चिर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ । स्थानीय तीर्थलाल तन्डुकारले आइतबार बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताए । यसै दिनदेखि काठमाडौंवासीहरु चिरको पूजा गरी आशीर्वाद लिने चलन छ । तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । ‘चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ’, उनी भन्छन् ‘यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।’ होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।
प्रहरी कार्यालय कि ‘कवाड’ खाना ? (फोटो फिचर)
काठमाडौं । वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं सवारीसाधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् । तर, ती सवारीसाधनको प्रयोग भएको छैन । कवाडीको रूपमा हजारौं सवारीसाधन प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ । थुपारिएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन । कतिपय सवारीसाधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पत्ति खेर गइरहेको छ । वर्षौँदेखि थन्किएका सवारीसाधान केही टुटेफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्नसक्ने अवस्थाका पनि छन् । तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन् । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका विभिन्न प्रहरी इकाईमा यस्ता सवारीसाधनको चाङ देखिन्छ । यी सवारीसाधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन् । तर, कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन् । ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ । यसरी होल्ड भएका सवारीसाधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पु¥याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन् । तर, केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन् । जसले गर्दा दिनप्रति दिन प्रहरी हातामा सवारीको चाङ लाग्दै गएको छ । चाङ लागेका सवारीसाधन देख्दा प्रहरी कार्यालय नै हो वा कवाड खाना ? एकछिन सोच्न बाध्य बनाउँछ । आजको फोटो फिचरमा प्रहरी कार्यालयमा थन्किएका सवारीसाधनहरू । न्युज एजेन्सी नेपाल
महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा शिवको पूजा गर्नेहरूको घुइँचो छ । भक्तजनहरूले व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।