सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । २०७५ साल चैत्र १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि पोखरललाई सिइओमा नियुक्त गर्ने निर्णय भएको हो । तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भए पश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखि नै बैंकमा आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पोखरेलले साथै २०६५ साल देखि नै दोस्रो वरियतामा रहेर बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही कार्य कुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताए । नीतिनियमको पालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बरिष्ठ अर्थविद डा. शंकरप्रसाद शर्मा अध्यक्ष रहेको सिटीजन्स बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।

एनआईसी एशिया क्यापिटलको सिइओमा रायमाझी नियुक्त

काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेन्द्र रायमाझी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको ५५औँ बैठकले सिइओमा रायमाझी नियुक्त गर्ने निर्णय गरेको हो । रायमाझीले विगत ११वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।  विगतको कार्यसम्पादन तथा कार्य अनुभवहरुबाट उनको कार्यकालमा,उनको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने कम्पनीले विश्वास लिएको छ ।

नेपाल क्लियरिङ्ग हाउसका सीइओ प्रधानको पदावधि ४ वर्ष थप

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको १२३ औं बैठकले नीलेशमान सिंह प्रधानको सीइओको पदावधि चार वर्षको लागि थप गरेको छ । २०७५ चैत १ गतेदेखि लागु हुने गरी पदावधि चार वर्ष थप गरिएको हो । प्रधान नेपाल क्लियरिङ्ग हाउसमा चैत्र २०६७ देखि कार्यरत छन् । काठमाडौं विश्व विध्यालयबाट बि.ई. र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजिबाट एम.बि.ए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उद्देश्य लिएको छ । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीनजना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।