लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली, आजै लिए सपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली चयन भएका छन् । नवनियुक्त अध्यक्ष पराजुलीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष आइतबार(आज)पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, का.मु. निर्देशक वीरेन्द्र दत्तअवस्थी, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा कम्पनी सचिवहरिकृष्ण सुवेदीको उपस्थिति रहेको थियो । विकास बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

नेपाल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएको छ । कम्पनीको सञ्चालकमा नेपाल बैंकको संस्थापक समुह तर्फबाट लक्ष्मण पौडेल र सर्वसाधरण सेयरधनी समूहको तर्फबाट विष्णुबहादुर जि.सी नियुक्त भएका छन् । फागुन १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनी सञ्चालकमा दुई जनालाई नियुक्त गरेको हो ।

कामना सेवा विकास बैंकको सीईओमा प्रविण बस्नेत

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रविण बस्नेत नियुक्त भएका छन् । विकास बैंकको माघ २९ गते बसेको संचालक समितिको बैठकले बस्नेतलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ बस्नेत यसअघि सोही बैंकको कायम मुकायम(कामु) सीईओ पदमा रहेको थिए । अब बस्नेतले फागुन १ गते(बुधबार)देखिनै आगामी ४ वर्षसम्म आफ्नो पद तथा कार्यभार सम्हाल्ने छन् ।