नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई ४ वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको चार वर्षे पदावधि गत जेठ १४ गते सकिएपछि सो पद रिक्त थियो । २०४७ सालमा प्राविधिक अधिकृतका रुपमा तत्कालीन हवाई विभागमा प्रवेश गरेका पोखरेल पछि बनेको प्राधिकरणमा कार्यरत रहे । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी छिन् । नेपाल राष्ट्र बैंकको बुधबार बसेको बोर्ड बैठकले भट्टलाई कार्यकारी निर्देशकमा बढुवा गरेको राष्ट्र बैंकले जनाएको छ । वि.सं. २०४६ साल पुसमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेकी भट्ट यसअघि विदेशी विनिमय विभागमै निर्देशकको रुपमा कार्यरत थिइन् । कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाको अनिवार्य अवकाशपछि उनी सोही विभागमा कामू कार्यकारी निर्देशकको रुपमा रहेकोमा हाल उनलाई सोही विभागमा कार्यकारी निर्देशकको पूर्ण जिम्मेवारी दिइएको हो । नेपाल राष्ट्र बैंकमा रहँदा बैंकिङ कार्यालय तथा लघुवित्त सुपरीवेक्षण, बैंक सुपरीवेक्षण, विकास बैंक सुपरीवेक्षण तथा विदेशी मुद्रा विनिमय विभागमा लामो समय काम गरेको अनुभव छ । स्थायी ठेगाना काठमाडौं रहेकी कार्यकारी निर्देशक भट्टले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेकी छन् । हालको व्यवस्थाअनुसार उनको कार्यकाल यही पुससम्म मात्रै रहनेछ ।

सपोर्ट माइक्रोफाइनान्सको सिइओमा कुलमणि तिम्सिना

काठमाडौँ । केन्द्रीय कार्यालय इटहरीमा रहेको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा कुलमणि तिम्सिना नियुक्त भएका छन् । संस्था सञ्चालक समितिको असार ८ गते बसेको बैठकले असार ९ गतेदेखि लागु हुने गरी तिम्सिनालाई सिइओ नियुक्त गर्ने निर्णय भएको हो ।