आर्थिक संघको २९औं वार्षिक साधारणसभा, अध्यक्षमा प्राडा प्याकुरेल

काठमाडौं । नेपाल आर्थिक संघको अध्यक्षमा अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेल चयन भएका छन् । संघको २९औं वार्षिक साधारणसभाले प्याकुरेलको अध्यक्षतमा आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो । नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्नहुँदै आएको छ । संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीतिनिर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको संघका नवनिर्वाचित महासचिव गोपाल तिवारीले बताए । नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको उक्त भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आगामी ३ वर्षका लागि १७ सदस्यीयकार्य समिति चयन गरेको हो । उक्त वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्वराजदुत प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोण सहित पेश हुन सक्ने बनाउने विश्वास व्यक्त गरे । वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रुपमा संघलाई परिचालित गरिने उनको भनाइ छ । ‘संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमादेखि कार्यान्वयनसम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेशागत संगठनको रुपमा विकास गरिनेछ,’ अध्यक्ष प्याकुरेलले भने । आगामी कार्यक्रमका रुपमा देशका सातै प्रदेशमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तीय संघीयता सम्बन्धी विषयहरुमा प्रदेशस्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने संघका नवनिर्वाचित महासचिव तिवारीले बताए । संघका अध्यक्ष प्राडा प्याकुरेलले संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीति निर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए । कार्यक्रममा सहभागीहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै गइरहेको तथा यसको साख विस्तार हुँदै गइरहेको अवस्थामा यसका गतिविधिले विशेष महत्व राख्ने भएकोले नयाँ कार्यसमितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नु पर्ने बताए । संघको नवनिर्वाचित कार्यसमितिमा प्राडा प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्राडा गोविन्द नेपाल उपाध्यक्ष, गोपाल तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्राडा शान्ता सिंह कोषाध्यक्ष छन् । कार्यसमिति सदस्यहरुमा प्राडा विजय श्रेष्ठ, प्राडा केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्राडा शिवराज अधिकारी, प्राडा माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा यादवमणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ छन् । संघमा त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।

राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले मंगलबारदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा.भट्ट अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलाले सम्हालेका थिए । उनी अनिवार्य अवकाशका लागि बिदामा बसेपछि बैंकले रिक्त प्रवक्ता पदमा डा. भट्टलाई नियुक्त गरेको हो । नियुक्त भएको दिनदेखिनै डा.भट्टले उक्त पदको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला, बीमा क्षेत्रमा ४ दशकको अनुभव

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै नियुक्तिले बैधता पाउँछ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३ साताअघि तिमिलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णयसहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो । तिमिला यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिव ६ महिनाको कुलिङ पिरियडपछि उनी प्रिमियरमा प्रवेश गरेका हुन् । उनले बीमा क्षेत्रमा करिब ४ दशक बिताएका छन् । ओरेन्टल इन्स्योरेन्स कम्पनीमा १५ वर्ष र नेको इन्स्योस्योरेन्समा २३ वर्ष काम गरेका तिमिलाले नेको इन्स्योरेन्समा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् । उनीसँग बीमा कम्पनीको फाइनान्स, अन्डरराइटिङ, मार्केटिकङलगायत सबै विभागमा काम गरेको अनुभव छ ।