खड्काको आरोप– विशेष महाधिवेशन अवैधानिक, स्पष्टीकरण सोध्नु अर्थहीन

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा नेता पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसबाट बनेको नेतृत्व र निर्णयलाई आफूले मान्यता नदिएको स्पष्ट पारेका छन् । खड्काले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च अदालत गएको उल्लेख गर्दै विशेष महाधिवेशन, त्यसबाट निर्वाचित पदाधिकारी तथा निर्वाचन आयोगको निर्णय संविधान, पार्टी विधान र स्थापित नजिरविपरीत रहेको दाबी गरेका छन् । खड्काका अनुसार उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय नआएसम्म त्यसलाई वैधानिक मान्न नसकिने अवस्था छ । ‘मैले अवैधानिक भनेर मुद्दा दायर गरेको समितिबाट मलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ छैन,’ खड्काले भने, ‘यो हास्यास्पद कुरा हो ।’ उनले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले बाँडेको टिकट लिएर प्रतिनिधिसभा निर्वाचनमा जानु राजनीतिक रूपमा अनैतिक हुने निष्कर्ष निकाल्दै आफू चुनाव नलडेको पनि स्पष्ट पारे । खड्काले सबै पक्षलाई सर्वोच्च अदालतको निर्णय कुर्न आग्रह गर्दै अन्तिम फैसला आएपछि मात्र त्यसअनुसार अघि बढ्नुपर्ने पनि बताए ।

औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानीलाई

काठमाडौं । औषधी व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिइएको छ । सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ।  विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई औषधिको मूल्य बढाएको आरोपमा मन्त्रालय बोलाइएको छ । कानून विपरित औषधीको मूल्य निर्धारण गरेको आरोप लागेपछि आरोपबारे छानबिन गर्न मन्त्रालयले गत २७ चैतमा अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।  समितिलाई यो विषयमा छानबिन गरी एक साता भित्र प्रतिवेदन बुझाउन भनिएको छ । खड्गी यसअघि बरिष्ठ औषधी व्यवस्थापकको रुपमा कार्यरत थिइन् । दशौँ तहकी खड्गी विभागमा हाल कार्यरत कर्मचारीहरू मध्ये सबैभन्दा वरिष्ठ हुन् ।  पत्रमा अर्कै व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न भनिएको छ । आज पत्र पाएकी उनले नयाँ जिम्मेवारी सम्हालि सकेकी छन् ।  

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बुधबार केन्द्रीय कार्यालय, सानेपामा बैठक सुरु भएको हो । बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल हुने जनाइएको छ ।  त्यसैगरी, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमा भइरहेका साइबर बुलिङलगायत विषयमा छलफल गर्ने दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ ।