इन्धनमा भएको मूल्यवृद्धिको समस्या सम्बोधन हुने मन्त्रीको आश्वासन, निर्माण व्यवसायी उत्साहित

काठमाडौं । इन्धन तथा निर्माणजन्य सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण संकटमा परेको निर्माण उद्योगको समस्या समाधान गर्न सरकार सकारात्मक देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मूल्य समायोजनका लागि मन्त्रिपरिषद्बाट छिट्टै निर्णय गराउने प्रतिबद्धता जनाएको जानकारी दिएको हो । मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल र बिटुमिन लगायतका सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि भएपछि देशभरका निर्माण कार्यहरू ठप्प हुने स्थिति सिर्जना भएको थियो । यस विषयमा महासंघले मन्त्री लम्साल र सरकारका सचिवहरूलाई पटक-पटक भेटी ध्यानाकर्षण गराएको थियो । महासंघका अनुसार मन्त्री लम्सालसँग भएको द्विपक्षीय छलफलमा मूल्य समायोजनको विषयलाई कार्यान्वयनको प्रक्रियामा लगिएको र मूल्यवृद्धि भएको समयमा गरिएका निर्माण कार्यहरूको शोधभर्ना हुने गरी मन्त्रिपरिषद्ले निर्णय गर्ने आश्वासन प्राप्त भएको छ । मूल्यवृद्धिको चर्को मारलाई मध्यनजर गर्दै महासंघले आफ्ना सबै प्रदेश, जिल्ला संघ र एसोसिएट सदस्यहरूलाई विशेष आग्रह समेत गरेको छ। अबदेखि नयाँ बोलपत्र दाखिला गर्दा वा सम्झौता गर्दा अनिवार्य रूपमा 'मूल्य समायोजन' को प्रावधान लागू हुने गरी मात्र प्रक्रिया अगाडि बढाउन महासंघले निर्देशन दिएको छ । निर्माण व्यवसायीहरूले सरकारको यो प्रतिबद्धता समयमै कार्यान्वयन भएमा रोकिएका विकास निर्माणका कामहरूले पुनः गति लिने विश्वास व्यक्त गरेका छन् ।

फेरि एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमा, ४० औं स्थानमा उक्लियो

काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ । बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो । प्रतिवर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ।  यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी थिए । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुकको लागि गौरवको विषयको रूपमा व्याख्या गरे ।  ‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’ उनले भने। उनका अनुसार टप सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रीकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ । कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धिका लागि टीमवर्क, रचनात्मकता र सेवा गुणस्तर प्रमुख कारण भएको उल्लेख गरे । ‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौं,’ उनले भने । पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको कुँवरको भनाइ छ ।  ‘मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने । क्लबिङ् लाइफलाई व्यवस्थित र सभ्य बनाउन हामीलाई थप जिम्मेवारी प्रदान गरेको कुँवरको भनाइ छ । एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये सन् २०२५ मा ४४औं स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२ औं , २०२३ मा ४९ औं र २०२४ मा ५० औं स्थानमा परिसकेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी 'पेपरलेस' बन्दै, अब घरैबाट बीमा शुल्क तिर्न सकिने

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आफ्ना सेवाहरूलाई पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाएको छ । कम्पनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै 'मोबाइल एप' सार्वजनिक गर्नुका साथै सम्पूर्ण आर्थिक कारोबारलाई कागजातविहीन बनाएको घोषणा गरेको हो । कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेवा प्रवाहमा पारदर्शिता र सहजता ल्याउन यो नयाँ कदम चालेको जनाएको छ । अब सेवाग्राहीले गुगल प्ले स्टोरबाट कम्पनीको आधिकारिक एप डाउनलोड गरी आफ्नो बीमा योजनाको विवरण, प्रिमियम गणना र अभिकर्ता सम्बन्धी जानकारी तुरुन्तै प्राप्त गर्न सक्नेछन् । बीमा शुल्क र कर्जाको साँवा-ब्याज भुक्तानीका लागि अब कार्यालयसम्म धाउनुपर्ने छैन । ग्राहकले कनेक्ट आईपीएस, ईसेवा, खल्ती तथा फोनपेजस्ता डिजिटल माध्यमबाट घरैबाट भुक्तानी गर्न सक्नेछन् । कम्पनीले दाबी भुक्तानी र भेन्डर भुक्तानी लगायतका सबै खर्च प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ । यसले भुक्तानी प्रक्रियालाई छिटो र छरितो बनाउने कम्पनीको विश्वास छ । कम्पनीले "सुरक्षित भविष्य र डिजिटल सेवा, राष्ट्रिय जीवन बीमाको टेवा" भन्ने नाराका साथ प्रविधिको उच्चतम प्रयोग सुरु गरेको हो । यसबाट सेवा प्रवाहमा सुरक्षा, प्रभावकारिता र विश्वसनीयता कायम हुने कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पनि सूचना प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउँदै सबै ग्राहकहरूलाई डिजिटल सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट www.rbs.gov.np हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।