आज पनि दुई पटक विमानस्थल ठप्प हुँदै, राडार बिग्रदा उडान व्यवस्थापनमा हम्मेहम्मे

काठमाडौं १९, कात्तिक । शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ । भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान ९नोटाम० जारी भएको छ । नोटामको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । यो सूचना सबै वायुसवेलाई जानकारी भइसकेकोले सोही अनुसार उडान व्यवस्थापन हुने भएकोले पनि कुनै ठूलो उडान प्रभाव नपर्ने ठाकुरको भनाइ छ । मुखर्जी शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेर काठमाडौंबाट जनकपुर र पोखरा जाँदै छन् । सोही जहाजबाट काठमाडौं पर्कने र साँझ नयाँदिल्ली जाने कार्यक्रम रहेको छ । बुधबार समेत भारतीय राष्ट्रपति मुखर्जीको सवारीका कारण दिनभर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रभावित भएको थियो । बिहीबार समेत दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाजको गति, दिशा र उचाई देखाउने यन्त्र (राडार) बिग्रदा उडान व्यवस्थापनमै हम्मेहम्मे परेको थियो । बिहीबार राडारले काम नगर्दा पनि उडान व्यवस्थापन गर्नुपर्दा राडारमै अभ्यस्त एयर ट्राफिक कन्ट्रोलर ९एटीसी०लाई निकै असहज भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार बुधबार बेलुका ८ बजेदेखि बिग्रिएको राडार २१ घण्टापछि आर्थात् बिहिबार बेलुका ५ बजे मात्रै बनेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट ।

पार्टीभित्रै प्रचण्ड आलोचित, जनताको पक्षमा देखिने निर्णय नगरेको आरोप

काठमाडौं १८, कात्तिक ।सरकारको नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रैबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीव्र आलोचना सुरु भएको छ । परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक बिदा घोषणा गरेको, इमानदार र क्षमतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनेलाई राजनीतिक नियुक्तिमा लगेको आरोप लगाउँदै उनको आलोचना हुन थालेको हो । उनीमाथि जनताका पक्षमा देखिने गरी कुनै निर्णय कार्यान्वयन गराउन नसकेको, पार्टीको संस्थागत निर्णय नमानेको, अध्यक्षको हैसियतमा पार्टी संगठनलाई बेवास्ता गरी निर्वाचन गराउने घोषणा गरेको, भारत र चीनबीच सन्तुलन कायम राख्न नसकेको जस्ता आरोप पार्टीभित्रैबाट लागेको छ । भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय सेलाउन नपाउँदै प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्त गरेपछि उनको तीव्र आलोचना सुरु भएको छ । पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेको विषयमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले व्यंग्यात्मक शैलीमा विरोध जनाएका छन् । पार्टी अध्यक्ष दाहालको संरक्षण गरेजस्तो गरेर पत्याउनै नसकिने निर्णय प्रधानमन्त्री दाहालबाट नभएको हुनसक्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति सार्वजनिक गरेका छन् । ‘हाम्रो पार्टी र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको इज्जत, प्रतिष्ठा र मूल्यमाथि किन यति निर्मम प्रहार भइरहेको छ  । हालै नियुक्त भएका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार उही हाम्रो पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य नारायण दाहाल नै हो भनेर किन प्रचार हुँदैछ रु यो हुनै सक्दैन । प्रशासनिक सल्लाहकारमा कोही नारायण दाहाल नाम गरेको पूर्ववरिष्ठ प्रशासक वा दक्ष प्रशासनविद्लाई नियुक्त गरिएको हुनुपर्छ । संयोगले नाम जुध्यो । बस । होइन र १’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् । प्रशासनिक सल्लाहकार नियुक्त भएका नेता नारायण दाहालले भने श्रेष्ठको अभिव्यक्तिलाई गैरराजनीतिक टिप्पणीको संज्ञा दिएका छन्, अन्नपूर्ण पोस्ट दैनिकबाट ।

चीनले सगरमाथामा पर्वतारोहण केन्द्र बनाउने, एक अर्ब ६० करोड रुपैयाँं खर्च गर्ने

काठमाडौं १८, कात्तिक । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ । चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न विकट हिमालको काखमा आधारभूत प्रबन्धसहितको सुविधासम्पन्न केन्द्र बनाउन लागेको हो । चीनको तिब्बत स्वायत्त प्रदेशको कङ्खर टाउनसिपमा आगामी वर्ष सन् २०१७ देखि निर्माण सुरु गरेर दुई वर्षपछि सन् २०१९ मा सप्पन्न गर्ने समाचार चीनको सरकारी प्रकाशन चाइना डेलीले लेखेको छ । सगरमाथाको उत्तरी मोहोडादेखि उत्तरतिरको भूभागमा ८४ हजार ३ सय २० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने यो केन्द्रका लागि चीनले दस करोड चिनियाँ युआन (एक अर्ब ६० करोड रुपैयाँं)खर्च गर्नेछ । समाचारमा जनाइए अनुसार निर्माण हुने अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्रमा पर्वतारोही, हिउँमा चिप्लेटी खेल्ने खेलाडी, प्याराग्लाइडर र पथप्रदर्शकहरुलाई खानाको व्यवस्था हुनेछ । स्वास्थ्य सेवा, ट्राभल्स एजेन्सी र हेलिकप्टर उद्दार सेवासमेत केन्द्रमा उपलब्ध हुनेछ । अहिलेसम्म तिब्बतमा उच्च अक्षांशमा परेका तथा हिमालमा फसेका व्यक्तिलाई हेलिकप्टरबाट उद्दार गर्ने व्यवस्था छैन । यस्तो अवस्थामा चीनको अनुरोधमा नेपालले हेलिकप्टरद्वारा उद्धार गर्दै आएको छ । कान्तिपुर दैनिकबाट । तिब्बत स्वायत्त प्रदेशको खेलकुद ब्युरोका उपनिर्देशक निमा छिरिङलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार केन्द्रभित्र पर्वतारोहण संग्रहालय, कार भाडामा लगाउने व्यावसायिक कक्ष, कार मर्मत स्थल, मोटरसाइकल र साइकल भाडामा पाइने स्थल, रेष्टुरेन्ट र सुत्ने लजहरूसमेत बनाइनेछ । कङ्खर टिङ्ग्री काउन्टीका पाँच टाउन्सिपमध्येको एक हो । नेपालसँग सीमा जोडिएको कङ्खरबाट सगरमाथा, चोयु, शिशापङ्मा, ल्होत्से र मकालु हिमालको सुन्दर दृश्य देखिन्छ । यस क्षेत्रको पर्यटकीय तथा आर्थिक र सांस्कृतिक विकास गर्नका लागि चीनले अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउन लागेको बताइएको छ । केन्द्र बनिसकेपछि साबिकभन्दा अधिक पर्वतारोही र पर्यटकहरु सो क्षेत्रमा आउने अपेक्षा चीनले गरेको छ ।