सन नेपाल लाइफको आईएसओ प्रमाणीकरण नवीकरण, ग्राहकको डाटा अब झन् सुरक्षित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आईएसआ/आइसीई २७००१ः२०२२ को प्रमाणीकरण सफलतापूर्वक नवीकरण गरेको छ ।

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै यस नवीकरणबाट बीमित, ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रतिको आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ ।

कम्पनीका अनुसार आईएसआ/आइसीई २७००१ः२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी विश्वव्यापी रूपमा मान्यताप्राप्त मानक हो । जसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान, मूल्याङ्कन र सुरक्षा उपाय लागू गर्न व्यवस्थित आधार प्रदान गर्दछ । 

यस मानकको मुख्य आधार सूचनाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्नु रहेको छ । जसअन्तर्गत ग्राहकका व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील विवरण अधिकारप्राप्त व्यक्तिले मात्र पहुँच पाउने, अनधिकृत परिवर्तनबाट सुरक्षित रहने र आवश्यक परेको समयमा प्रणाली सहजै उपलब्ध हुने व्यवस्था गरिन्छ ।

डिजिटल सेवाको विस्तारसँगै जीवन बीमा क्षेत्रमा ग्राहकको विवरण, बीमालेख, भुक्तानी तथा दाबीसम्बन्धी अभिलेखको सुरक्षित व्यवस्थापन प्रत्यक्ष रूपमा सेवाको विश्वसनीयता र ग्राहकको विश्वाससँग जोडिएको हुन्छ । 

कम्पनीले सूचना सुरक्षालाई आफ्नो संस्थागत जिम्मेवारीका रूपमा लिँदै आगामी दिनमा पनि जोखिम व्यवस्थापन, कर्मचारी सचेतना र प्रणाली सुधारमार्फत सुरक्षित, विश्वसनीय एवं ग्राहककेन्द्रित बीमा सेवा प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

Share News