पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ ।  हरेक १२/१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिए । वैशाख १८ गतेसम्म कलेवर फेरी सक्ने गरी काम भइरहेको उनले बताए ।      जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको मूर्तिमा सूँढ छैन । कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा जयवागेश्वरीको निर्माण सम्पन्न भएको इतिहास छ । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्वार गरिएको थियो । यस्तै, विसं २०७२ वैशाख १२ को भूकम्पमा धेरै क्षति भएपछि मन्दिर पुनःनिर्माण गरिएको थियो ।      जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मी मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरी मै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।       जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी सन्देश मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोकालगायत संरचना रहेको उनको भनाइ छ ।      गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी रहेको र लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको जानकारहरू बताउँछन् । मल्लकालमा भने हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहास छ । रासस  

आइतबारदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आइतबार र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।  उनका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।       भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।       भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारका लागि विसं २०५० मा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम विसं २०५९ देखि देशभरि नै लागू गरिएको थियो ।       यस्तै, जुका नियन्त्रण तथा रोकथामको लागि विसं २०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालबाट सबै जिल्लामा लागू गरिएको थियो ।  प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निःशुल्क खुवाउने गरिएको छ  । रासस   

तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छ : इरानका उप-परराष्ट्रमन्त्री

काठमाडौं । इरानका उप-परराष्ट्रमन्त्री सईद खतिबजादेले तेहरानले शत्रुताको स्थायी अन्त्यका लागि आह्वान गरिरहेको बताएका छन् । अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा उनले आफूहरूको क्षेत्रमा युद्धविराम आवश्यक रहेको बताए ।  तेहरान क्षेत्रमा द्वन्द्वको चक्र अन्त्य गर्न प्रतिवद्ध रहेको उनले बताए । आफूहरू यो शत्रुता अन्त्य गर्न धेरै प्रतिवद्ध रहेको र यस क्षेत्रमा यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न चाहेको बताए  ।