मदन भण्डारी राजमार्गः झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये हालसम्म २५ वटा निर्माण सम्पन्न भइसकेका मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर रमेशकुमार दत्तका अनुसार झापाको बाहुनडाँगीबाट सुनसरीको चतरासम्मको १३१ किलोमिटर सडकमा २५ वटा पुल बनिरहेका हुन् । निर्माण सम्पन्न भएका पुलको लम्बाई २० मिटरदेखि ३०० मिटरसम्म छ । निर्माणमा केही ढिलाइ हुनुका कारण वन क्षेत्रको अवरोध रहेको उनले बताए । पुल निर्माण हुने कतिपय क्षेत्र वन क्षेत्रमा पर्ने र रुख कटानको अनुमति पाउन समय लागेकाले काममा ढिलाइ भएको बताउँदै केही पुल अझै अधुरा रहेका सूचना अधिकारी दत्तले जानकारी दिए । उनका अनुसार पुलको कुल लागत रु छ अर्ब १२ करोड ६२ लाख ५४ हजार रहेको छ भने सडक निर्माणको लागत रु १० अर्ब १३ करोड रहेको छ । झापामा पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् । जसमा ढोङ्ग्रे खोला, खार खोला, दामा खोला, हँडिया खोला र गगटे खोलाका पुल रहेका छन् । झापा र इलामको सिमानामा पर्ने २२० मिटर लामो बिरिङ खोलाको पुल पनि निर्माण भइसकेको छ । मोरङमा धानखेती, खहरे, डाले, मुगु खोला, खुदुम, मोराङ्गी, तेली र नुसरी खोलाका पुल बनेका छन् । इलाम क्षेत्रमा सबैभन्दा बढी १३ वटा पुलको निर्माण सम्पन्न भएका सूचना अधिकारी दत्तले जानकारी दिए । उनका अनुसार सुखानी शहादतस्थल, बुढी खोला, सुखानी खोला, टाङटिङ, गोयाङ, सानोनेते, ठूलोनेते, रतुवा, बुकुवा सानो, बुकुवा ठूलो, बिधुवा खोला, चाँजु खोला र बागद्वार खोलाका पुल सञ्चालनका लागि तयार भएका छन् । पुल निर्माण बाँकी रहेका १२ स्थानमध्ये मोरङमा आठ वटा र सुनसरीमा चार वटा रहेका छन् । मोरङको सोल्टी–१, सोल्टी–२, मिखि खोला, बालुवा खोला, सानो नेते, तुर्की खोला, हचुवा र साउने खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेका सूचना अधिकारी दत्तले बताए । सुनसरीका चार वटा पुल रेल्वे रिभर, ठकुरी खोला, बाघ खोला र बगुवा खोलाको निर्माण सम्पन्न हुन बाँकी छन् । पुल निर्माणले पूर्वी नेपालको यातायात र आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
खटाइएको ठाउँमा नगएका १६ प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको अल्टिमेटम
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सरुवा भएर पनि हाजिर हुन नगएका १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन जारी गरेको छ । २०८२ भदौदेखि चैत महिनासम्मको अवधिमा उपसचिव तथा शाखा अधिकृत स्तरका यी कर्मचारीहरूलाई विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूमा सरुवा गरिएको भए पनि हालसम्म रमाना नलिई साविककै कार्यालयमा बसिरहेकाहरूलाई मन्त्रालयले वैशाख १० गते पत्राचार गर्दै यस्तो अल्टिमेटम दिएको हो । मन्त्रालयले ती कर्मचारीहरूलाई अबको ३ दिनभित्र अनिवार्य रूपमा खटाइएको निकायमा कामकाजका लागि रमाना हुन निर्देशन दिएको छ । तोकिएको समयभित्र हाजिर हुन नजाने कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्था बमोजिम विभागीय कारबाही गरिने चेतावनी समेत दिइएको छ । लामो समयदेखि सरुवा अटेर गरी साविककै कार्यालयमा बस्ने विकृतिलाई रोक्न मन्त्रालयले यो कठोर कदम चालेको हो । आगामी दिनमा समेत अवधि पूरा भइसक्दा पनि हाजिर हुन नजाने अन्य कर्मचारीहरू उपर पनि कडा कानुनी कारबाही चलाइने मन्त्रालयले स्पष्ट पारेको छ ।