चिनियाँ बजारबाट सामान खरिद गर्न १ हजार ३३८ ले लिए सीमा पास
काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट १ हजार बढी नागरिकले सीमा पास लिएका छन् । वि.सं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथाङ्का नाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए । उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि १ हजार ३३८ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा १ हजार ८२ जना र २०८३/८३ मा २५६ जनाले सीमा पास लिएको सीमा प्रशासन कार्यालयकी सृजना मेहताले बताए । त्यसैगरी, हालसम्म ६४८ जनाले सीमा पास नवीकरण गरेका छन् । सीमा पास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु र रोजगारीका लागि सीमावर्ती नाका आवतजावत गर्न सहज भएको छ । भोटखोला र मकालु गाउँपालिका भित्र नागरिकले सीमा पास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । भोटखोला गाउँपालिकाका-१, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब ५ हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदोमात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए । उत्तरी क्षेत्रमा किमाथाङ्कामा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट २ दिन हिँडेर मात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी-किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १६२ किलोमिटर छ ।
४ वर्षदेखिका लाइसेन्स लिनेको भिड, १ लाख ७६ हजार लाइसेन्स बाँड्न ६ महिना लाग्ने
काठमाडौं । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका १ लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) ६ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा ३ हजार सवारी अनुमतिपत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए । अझै एक लाख सवारीपत्र छपाइ भएर आउन बाँकी रहेको उनले बताए । उनले भने, ‘मङ्गलबारदेखि लाइसेन्स वितरण सुरु गरेका छौँ, पहिलो दिन ८०० वितरण गर्यौँ, दोस्रो दिन र तेस्रो दिनसम्म गरेर ३ हजार वितरण गर्यौँ, ८ जना कर्मचारी लाइसेन्स वितरणमा ९ बजेदेखि ५ बजेसम्म खटिँदा पनि १ हजारभन्दा बढी वितरण गर्न सकिँदैन, यही अवस्थामा सबै लाइसेन्स वितरण गर्न ६ महिना समय लाग्छ ।’ सरकारले पठाएको लाइसेन्स लिन दैनिक भीड नगर्न सेवाग्राहीलाई आग्रह गर्दै उनले लाइसेन्सको बिलदेखि मोबाइल एप्स प्रयोग गरेर लाइसेन्स देखाउन सकिने बताउन सकिने भएकाले भीड नगरी विस्तारै आइदिन सेवाग्राहीलाई आग्रह गरे । कार्यालयले सवारी अनुमतिपत्र वितरण सुरु गरेपछि ४ वर्षदेखि लाइसेन्स लिन कुरिरहेका सेवाग्राहीको कार्यालयमा भीड बढेको छ । बिहान ७ बजेदेखि नै कार्यालय अगाडि सेवाग्राहीको भीड लागेपछि कार्यालयले बिहान ९ बजे कार्यालय खुल्ने बित्तिकै सवारी अनुमतिपत्र वितरण गर्ने गरेको बस्नेतले जानकारी दिए । नवीकरणका लागि आवेदन दिएका र लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्सका लागि चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीले अहिलेसम्म रसिदका भरमा सवारीसाधन सञ्चालन गर्दै आएका थिए ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने, यस्तो छ देशभरको मौसम
काठमाडौं । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू-भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । यसैगरी, मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना छ । आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।