१३ औँ सागः पाँच खेल पोखरामा

पोखरा । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा उच्च प्राथमिकतामा परेको बताएका छन् । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रिय स्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए। मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा पाँच–छ खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिँदै त्यही रुपमा तयारी पनि अगाडि बढाइएको बताए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङले खेल क्षेत्रलाई भ्रष्टाचारमुक्त गरिनुपर्नेमा जोड दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदको विकासका लागि पोखरा उर्वर भूमि भए पनि प्रशिक्षकका अभाव जस्ता समस्या भोग्नुपरेको गुनासो गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफलमा फैलिएको र यहाँ पछिल्ला समयमा बहुउद्देश्यीय कबर्ड हल लगायत संरचना निर्माण भइरहेको जानकारी दिए। रासस

भाइरलका बिरामी बढे

इलाम । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविक भन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् । इलाम अस्पताललगायत चारवटा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पनि दिनहुँ भाइरलका बिरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो आउने, घाँटी दुख्ने लगायतका भाइरलका बिरामीको चाप बढेको हो । इलाम अस्पतालमा मात्र उपचारका लागि दैनिक १५० बिरामी आउन थालेको हेल्थ असिस्टेन्ट गणेश रिजाल बताउाछन्। “आकस्मिक उपचारका लागिमात्र दैनिक ५०/६० जना आइरहेका छन्”, उनले भने, “ओपिडीमा त्यसको दोब्बर बिरामी आउँछन् ।” स्वास्थ्यकर्मी र औषधिको अभाव नभए पनि बिरामीलाई राखेर उपचार गराउन शय्याको अभाव भएको छ । “पचास शय्याको अस्पताल भए पनि बिरामीको चापले शय्यामा राखेर उपचार गर्न गाह्रो परेको छ”, मेडिकल अधिकृत विजय फुयाँलले भने, “प्रसूतिका बिरामी पनि उत्तिकै हुने र शय्या पनि भरिएकाले धेरैलाई उपचार गराउँदै घर पठाउनुपरिरहेको छ, बिरामीले आराम गर्नसमेत पाएका छैनन् ।” मौसम परिवर्तन, खानपान र दूषित पानीका कारण रोग लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । हावा, पानी लगायतबाट रोग सर्ने भएकाले एउटा परिवार वा समूहमा बस्ने एकजनामा रोग देखापरे अरूलाई पनि सर्छ । यस्ता बिरामीले पानी उमालेर मात्र पिउनुपर्ने, मुख छोप्नुपर्ने र झोलिलो पदार्थ धेरै खानुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिन थालेका छन् । इलाम अस्पतालसहित प्याङ, मंगलबारे, फिक्कल र पशुपतिनगरका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप बढेको छ । रासस –––––––

ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा

भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोका स्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङ्घिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। भक्तपुरमा गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधारणले मुख्यरुपमा आजमात्र गाईजात्रा निकालिन्छ । सर्वसाधारणले गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा रहेको छ । सोअनुसार आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङ्घिसी नाच हो । त्यससँगै मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो । तहामचा बाँसबाट बनाइन्छ । हरियो, करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्छ । तहामचालाई नगर परिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले किरियापुत्रीद्वारा संकल्प गराई विधि बमोजिम पूजा गर्ने प्रचलन रहेको छ । भक्तपुरकै तालाकोस्थित कुमालेहरुले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउेँछन्। गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ । साथै, केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा सिंगारी बाजागाजाका साथ ‘वासा लुइके’ गरेर प्रदर्शन गर्ने प्रचलनसमेत रहेको छ । गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भएपनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको प्रा डा श्रेष्ठ बताउँछन् । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेष खालँको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठ बताउँछन् । किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्य व्यंग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्य व्यंग्यसमेत प्रदर्शन गरिन्छ । प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्लभन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दाबी गर्छन् । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशावलीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने मान्न सकिने उनको भनाइ रहेको छ । उनले विक्रमको १४औँ शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व शुरु भएको मान्न सकिने आधारहरु भएको बताए । गाईजात्राकै अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी नाचलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । यस वर्ष मध्यपुर थिमिमा लाय्कु भैल, अप्सरा नाच, सलँचा प्याखः महाकाली प्याखः प्रदर्शनको तयारी भइरहेको छ । आठदिने गाईजात्राकै अवसरमा मध्यपुरथिमिको बोडेमा निलबाराही नाचसमेत प्रदर्शन गरिन्छ । रासस –––––––