बुधबारदेखि राजधानीमा तीन दिने दोस्रो अष्ट्रेलियन एजुकेसन डे सुरु
काठमाडौं । बुधबारदेखि राजधानीको याक एण्ड यती होटलमा दोस्रोपटक अष्ट्रेलियन एजुकेसन डे सुरु भएको छ । अष्ट्रेलिया जाने नेपाली विद्यार्थीवर्गलाई लक्षित गरेर एईसीसी ग्लोबल कन्सल्ट्यान्सी नामक संस्थाले कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रम तीन दिनसम्म चल्ने संस्थाले जनाएको छ । शिक्षा मन्त्रीले कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई पढाईपछि आफ्नै देशमा फर्किएर श्रम र शिक्षाको उपयोग गर्न आग्रह गरेका हुन् । शिक्षा मन्त्री श्रेष्ठले विदेशमा पढ्न र काम गर्न गएका विद्यार्थीलाई स्वदेशमै शिक्षा र श्रमको सदुपयोग गर्न आग्रह गरेका छन् । ‘अन्य मुलुकमा नेपाली विद्यार्थीकै श्रम तथा सिपबाट विकासका गतिविधीहरु अघि बढेको छ,’ श्रेष्ठले भने, ‘त्यस्ता सिप नेपालको विभिन्न आर्थिक क्षेत्रमा सदुपयोग गर्नसके देश विकासमा सहयोग पुग्छ। उनका अनुसार नेपालमा वर्षेनी २० देखि २५ हजार विद्यार्थीहरु बैदेशिक शिक्षाको लागि अस्ट्रेलिया जाने गरेका छन् । राजधानीको याक एण्ड यती होटलमा आयोजना गरिएको अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित उक्त कार्यक्रममा तीन दिन चल्ने एईसीसी ग्लोबल प्रमुख शैलेस कुमार झाले बताए । उनका अनुसार विद्यार्थीलाई बिदेश जानु अघि विषय, विश्वविद्यालय, र अध्यनका लागि उपयुक्त ठाउँको छनोट गर्न पाउनेछन् । उनले भने , ‘अस्ट्रेलियन प्रतिनिधीसँग प्रत्यक्ष भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रवृत्ति र भिषा डक्युमेन्टेशन लगायतका बारेमा उचित परामर्श दिइनेछ ।’ अष्ट्रेलिया केन्द्रित एईसीसी ग्लोबलले न्यूजिल्याण्ड, क्यानेडा, यूएसए र यूके लगायत आठ देशका २३ वटा शहरबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ । कार्यक्रममा २७ वटा अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । राजधानी बाहेक कार्यक्रम पोखरा र चितवनमा पनि चल्नेछ ।
अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीले निजी क्षेत्रको बिमान चढ्न नपाउने
काठमाडौं । अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीहरुले निजी कम्पनीका बिमान चढ्न नपाउने भएका छन् । बुधबार बसेको व्यवस्थापिका-संसद सार्वजनिक लेखा समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको छ । समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। नेपाल वायु सेवा निगमको व्यवसायिक क्षमता अभिवृद्धि गराउन त्यस्तो व्यवस्था गर्न लागिएको समितिले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको प्रस्तावमा समितिले यस्तो निर्णय गरेको हो । मन्त्री देवले भारतमा पनि सरकारी कर्मचारीलाई इण्डियन एयरलायन्स मात्रै प्रयोग गर्ने अनुमति रहेको बताउँदै नेपालमा पनि त्यस्तै व्यवस्थाका लागि समितिले निर्देशन दिनुपर्ने धारणा राखेका थिए । यो व्यवस्था कार्यान्वयनमा आएपछि मन्त्री सांसद र कर्मचारीले नेपाल वायु सेवा निगमको जहाज उड्ने गन्तव्यहरुमा नीजि कम्पनीका जहाज चढ्ने पाउने छैनन् ।
जिल्ला अदालतमा ७७ प्रतिशत मुद्दा फछ्र्यौट
तेह्रथुम। जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष ०७३/७४ मा ७७ दशमलव ६२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो लक्ष्य भन्दा दुई दशमलव ६२ प्रतिशत बढी हो । अदालतले गत वर्ष ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । दर्ता भएका २१० थान मुद्दामध्ये उक्त अवधिमा १६६ थान मुद्दा फछ्र्यौट गरेको जिल्ला अदलात तेह्रथुमका श्रेस्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार चालु आवका लागि ४७ थान मुद्दा सरिआएका छन् । अदालतले चालु आवमा २६२ थान मुद्दा दर्ता हुने लक्ष्य राखेको छ । अदालतकाअनुसार हालसम्म फैसला भएकामध्ये ३९६ वर्ष चार महिना २७ दिन कैद फैसला कार्यान्वयन हुन बाँकी रहेको छ । यस्तै रु ३७ लाख ६५ हजार १४८ जरिवाना समेत असुल गर्न बाँकी रहेको श्रेस्तेदार दाहालले बताए । यो वर्ष फैसला भएको १५७ वर्ष सात महिना एक दिन कैदमध्ये १०७ वर्ष एक महिना १६ दिन कार्यान्वयन भइरहेको छ । भने ५० वर्ष बढी कैद फैसला कार्यान्वयन हुन बाँकी छ । यस्तै रु पाँच लाख ८१ हजार जरिवाना तोकिएकोमा तीन लाख ८३ हजार ९७३ कार्यान्वयन हुनसकेको छैन । यो वर्ष ८४ वटा फौजदारी सम्बन्धी मुद्दा फैसला भएका छन् । अदातलका अनुसार दर्ता भएकामध्ये सबैभन्दा धेरै महिला हिंसा र सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका छन् । रासस