राष्ट्रिय राजमार्ग नै धरापजस्ता, उच्च जोखिम मोलेर यात्रा गनुपर्ने बाध्यता

चितवन ।  जताततै खाल्डा अनि तिनमा टनाटन पानी। सडक हो कि तलाउ, छुट्याउन मुस्किल छ। कालोपत्रे उप्किएर बगरझैं देखिन्छ। गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ। दुर्घटना जोखिम उत्तिकै छ। यो कुनै ग्रामीण सडकको वर्णन होइन, राजमार्गकै यस्तो हालत छ। पूर्वपश्चिम राजमार्ग र सहायक मार्ग कुनै ‘धराप’ भन्दा कम लाग्दैनन्। नवलपरासीस्थित मुख्य राजमार्ग र भित्री सडक हिलाम्मे छन्। व्यवस्थित ढल निकास नभएकाले वर्षामा सडक भत्किने गरेको छ। हिलोले यातायात अवरुद्ध भइरहन्छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा ठूल्ठूला खाल्डा छन्। पछिल्लो समय खाल्डाकै कारण दुर्घटना बढेको छ। यहाँ सामान्य वर्षामै दर्जनौं ठाउँमा पहिरो खस्छ। गैंडाकोट–रामपुर, भेडाबारी–बसेनी, दलदले–कोटथर, केउरेनी–बन्दीपुर, रजहर–बाहकोल, कावासोती–अर्खला हुँदै पाल्पा रामपुर, कावासोती–रकुवा, डण्डाख्पनौती, चोरमारा–रुचाङ, अरूणखोला–राँकाचुलीलगायत दुम्कीबास, बर्दघाट, सुनवलबाट उत्तरी पहाडी भेगका भित्री सडकमा आहाल जमेको छ। त्यसमाथि पहिरोको अवरोध उत्तिकै छ। बर्दघाट–त्रिवेणी, परासी–महेशपुर खण्डमा खाल्डाखुल्डीले पैदलयात्री र यातायात व्यवसायी मर्कामा छन्। सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अमित बर्मा सामान्य वर्षामा समेत पटकपटक पहिरो झर्ने भएकाले सडक बिग्रँदै गएको बताउँछन्। पोखरी जत्रा खाडल सोमबार मध्याह्न वीरगन्जको बिर्ताबाट यात्रु बोकेर बाइपास सडक सिमरा विमानस्थल गइरहेका भ्यान चालक जगदीश साह संकटमा परे। मुख्य सडकमै ठूल्ठूला पोखरी थिए। ठूला गाडीलाई नै खाल्डा पार गर्न सकस देखिन्थ्यो। ‘बडेमानका पोखरी कसरी तर्ने होला रु’ साह चिन्ता गर्न थाले, ‘उता जहाज उड्ने बेला हुन लागिसक्यो, हामी वीरगन्जमै छौं।’ बाइपास हुँदै गुड्ने सवारीका हरेक चालकले अहिले यस्तै पीडा भोगिरहेका छन्। वीरगन्ज महानगरमा सवारी चाप घटाउन बनाइएको हो, बाइपास। तर, २ वर्षयता जीर्ण छ। नियमित मर्मत सम्भार छैन। नगवा चोकबाट बसपार्क नआउँदै, बसपार्क चोकको उत्तर र दक्षिण, भिस्वा होटल चोक र शुभलाभ पम्प गरी ५ ठाउँमा असाध्यै बिग्रिएको छ। साना–ठूला सबैजसो गाडी खाल्डोमा भासिने, बिग्रने गरेका छन्। त्रिभुवन राजपथको गण्डक चोकबाट सुरु भएर रजतजयन्ती चोकमा टुंगिने साढे ७ किमि लामो यो सडक विभागले २०५४ सालमा बनाएको हो। यहाँ दैनिक वीरगन्ज भन्सारबाट छुट्ने हजारभन्दा बढी मालवाहक सवारीसाधन गुड्छन्। ट्राफिक प्रहरीले मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई नगरको मुख्य सडक पस्न नदिने भएकाले चालकहरूलाई बाइपासको विकल्प छैन। सडकको दुरवस्था मकवानपुरको हेटौंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ, हेटौंडा–भीमफेदी–कुलेखानी–दक्षिणकाली र फाखेल–फर्पिङ सडकको अवस्था नाजुक छ। सवारीसाधन जोखिम मोलेर आउजाउ गर्छन्। मुग्लिन–नारायण खण्ड बिग्रिएपछि राजपथमा चाप बढेको छ। यसले गर्दा खाल्डाखुल्टी झन् बढदै छन्। विगतमा दैनिक मुस्किलले एक सयजति गाडी आउजाउ गर्ने यो सडकमा अहिले चौबीसै घण्टा ठूला सवारीसाधन चल्छन्। त्यस्तै हेटौंडाबाट दक्षिणकाली तथा फाखेल–फर्पिङ हुँदै राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग पनि सहज छैनन्। फर्पिङतर्फको बाटो फराकिलो बनाएर ओटासिल त गरिएको छ तर ठाउँठाउँमा पहिरो खसेको छ। ओटासिल उप्किएर ठूल्ठूला खाल्डा बनेका छन्। कुनै पनि बेला पहिरोले सवारी साधन पुर्ने जोखिम छ। दक्षिणकालीतर्फ विगतदेखि नै स्तरोन्नति र मर्मत चलिरहेको छ, अझै सकिएको छैन। पहिरो झरिरहन्छ। खाल्डाखुल्डी उत्तिकै छन्। गाडीका टायरै पुरिने गरी हिलो जमेको छ। जोखिम मोलेरै दैनिक झन्डै हजारवटा जति हलुका सवारीसाधन गुड्छन्। दोस्रो चरणको ओटासिल र मर्मत गर्न फर्पिङ तर्फको सडकमा मंगलबारदेखि भदौ मसान्तसम्मलाई अवागमन रोकिएको छ। जिल्ला समन्वय समितिबाट सञ्चालित ‘राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण’ अन्तर्गत ओटासिल गरी पहिरो पन्छाएर विभिन्न संरचना बनाउने तयारी छ। कान्तिपुर दैनिकबाट ।

कानुनविपरीत इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी, सरकारले वेवास्था गरेको आरोप

काठमाडौं । पेट्रोलियम व्यवसायीले इन्धन आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । ग्यास व्यवसायीको छातासंगठन नेपाल एलपी ग्यास उद्योग संघले नेपाली नम्बर प्लेटका बुलेट परिचालनका विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै देशभर आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो । उता पम्प सञ्चालकको छातासंगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पनि पेट्रोलियम पदार्थ बिक्री गर्दा हुने ‘प्राविधिक नोक्सानीु सरकारले समायानुकूल समायोजन नगरेको भन्दै मंगलबारदेखि पेट्रोल र डिजेलको बिक्री पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएको छ । अत्यावश्यक वस्तुका रूपमा रहेको खाना पकाउने ग्यास र इन्धनको बिक्रीवितरणका सवालमा बन्दहडताल गर्न नपाइने व्यवस्था छ । तर ग्यास र पेट्रोलियम पदार्थ बिक्रेताले कानुनविपरीत आपूर्ति ठप्प पार्ने धम्की दिएका छन् । सरकारकै निर्देशनमा अर्बौं रुपैयाँ लगानी गरी भारतमा तयार पारिएका नेपाली नम्बर प्लेटका बुलेट परिचालनमा सरकारले सहयोग नगरेको व्यवसायीको भनाइ छ । भारतको इन्डो नेपाल ब्लक एलपीजी ग्यास ट्रान्सपोर्ट एसोसिएसन र नेपाल एलपीजी ग्यास उद्योगबीच एक वर्षअघि भएको सम्झौताअनुसार भारतीय बुलेटले आगामी कात्तिक १ गतेसम्म मात्रै भारतबाट नेपालसम्म ग्यास आयात गरिदिनेछ । अन्नपूर्ण पोस्टबाट ।

नेपाली बुलेटआयात गर्न ग्यास उद्योगीको माग, समयमा नल्याए कात्तिकदेखि आपूर्तिमा समस्या आउने

काठमाडौं । नेपाली ग्याँस बुलेट सञ्चालनमा नआए आगामी कात्तिकदेखि आपूर्तिमा समस्या आउने निश्चित रहेको भन्दै ग्यास उद्योगीले भारतबाट नेपाली ग्यास बुलेट ल्याउन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नेपाली नम्बरका ग्यास बुलेट अहिलेसम्म सञ्चालनमा आउन नसकेकाले आगामी कात्तिक महिनापछि पूर्ण रुपमा ग्यास आपूर्तिमा अवरोध हुनसक्ने ग्यास उद्योगीले बताउछन् । गत कात्तिकदेखि भारतीय नम्बर प्लेटका ग्याँस ढुवानी नगर्ने सहमती भएको थियो । अनुमति पाएको एकवर्ष बितिसक्दापनि संचालनमा नआएपछि नेपाल एल.पि ग्यास उद्योग संघले नेपाली नम्बरका बुलेट संचालनका अघि बढाउन कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको हो । गत वर्षको असार २७ गते नेपाल आयल निगमले ७७५ बुलेट खरिदका लागि स्विकृती प्रदान गरेको थियो । करिव दस महिना अगाडी नेपाली बुलेटहरु भारतीय एक्सप्लोसिभ विभाग, नागपुरबाट भारतीय एक्सप्लोसिभ सर्टिफिकेट नपाएर रोकिएका थिए । हालसम्म करिब चार सय थान बुलेट भारतमै रहेको ग्यास उद्योगीले जनाएका छन् । करिब एक वर्षदेखि नेपाली बुलेटमा ग्यास आयातको पहल मन्त्रालयस्तरबाट भए पनि काम हुन सकेको छैन । संघका सचिव लक्ष्मण प्रसाद महर्जनका अनुसार उद्योगीले चार थान बुलेटका लागि करिब साढे तीन अर्ब  रुपैयाँ र ग्यास व्यवसायीको तर्फबाट पाँच अर्बको लगानी अलपत्र परेको छ । गत चैतमा व्यवस्थापिका सांसद, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली ग्याँस बुलेटको समस्या समाधान गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । धेरैपटक पहल गर्दापनि कुनै ठोस प्रकृया नभएको संघले जनाएको छ । नेपालमा आजसम्म पनि विस्फोटक सम्बन्धी कुनै मापदण्ड नभएकाले सम्पूर्ण विस्फोटक सम्बन्धी सुरक्षा मापदण्ड भारतको पेट्रोलियम एण्ड एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेसन (पेसो) ले निर्माण गरेको मापदण्डलाई अनुसरण गर्दै आइरहेको छ । सम्पूर्ण नेपाली नम्बर प्लेटका ग्याँसहरु पेसोको मापदण्ड अनुसार नै निर्माण गरिएको उद्योगीको दाबी छ । नेपालमा अहिलेसम्म कोशी ग्याँस उद्योग प्रालिलाई मात्र नेपाली ग्याँस बुलेट सञ्चालनका लागि अनुमति दिएको छ । भारतको मोटर भेहिकल सम्बन्धी ऐनमा पनि नेपाली बुलेटका लागि कुनै प्रावधान नभएको उद्योगीले बताए । १९६० को समझदारीमा पनि नेपाली नम्बर प्लेटका गाडीहरु भारतीय भूमिमा सञ्चालन गर्न पाउने अनुमति रहेकाले नेपाली ग्याँस बुलेट सञ्चालन गर्न दिनुपर्ने उद्योगीको माग छ । उक्त बुलेट सञ्चालनमा नआए नेपाल भारत बीचको व्यापार घाटा पनि करिब तीन सय ५० रुपैयाँ घट्ने महर्जनले बताए । उनका अनुसार नेपालको आफ्नै रिफाईनरी तथा भण्डारण नभएकाले एलपि ग्याँसको आपूर्ति अत्यावश्यक रहेको छ ।