धनगढी उपमहानगरको बजेट रु एक अर्ब १४ करोड

धनगढी । प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीको आज भएको प्रथम नगर अधिवेशनमा आर्थिक वर्ष २०७४÷०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख ५९ हजार रूपैयाँ बजेट सार्वजनिक गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले उपमहानगरको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आब २०७४÷०७५ मा लाग्ने कुल एकीकृत सम्पत्ति करको रकममा १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको जानकारी दिए। अहिलेसम्म धनगढी उपमहानगरले लिँदै आएको सम्पत्ति कर बढी भएको र अवैज्ञानिक रहेको जनगुनासो रहेको थियो । प्रमुख ओडले प्रस्तुत गर्नुभएको बजेटमध्ये चालु खर्चतर्फ २५ करोड ५५ लाख ७५ हजार र पूँजीगत खर्चतर्फ रु ८८ करोड ८५ लाख ८४ हजार रूपैयाँ छ । सार्वजनिक गरिएको बजेटमा सवै वडामा पहिलो पटक प्रत्येक वडालाई रु ५० लाखसम्मका दरले बजेट विनियोजन गर्ने प्रस्ताव गरिएको छ । बजेट रकम सवै वडालाई समानरुपमा विनियोजन गर्ने प्रस्ताव गरेका छाँैं, ओडले भने,—प्रस्तावितमध्ये थप बजेट रकम जनसंख्या र भूगोललाई आधार मानी वडामा क्रमशः ६०÷४० को अनुपातमा भार दिएर समेत बिनियोजन गर्न लागेका छौं ।” प्रस्तुत नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारहरुको विकास, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन, आर्थिक तथा सामाजिक विकासलगायतका विषयलाई प्राथमिकता दिइएको छ । सांसद पुष्करनाथ ओझाले अधिवेशनको उद्घाटन गर्दै धनगढी उपमहानगरलाई समृद्ध शहर बनाउने काममा नगरवासीको सकारात्मक सहयोग रहेको बताए । उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पुरुषोत्तम शर्माले स्थानीय सरकारका रुपमा स्थानीय तहले काम गर्नुपर्ने अबको अवस्थामा उपमहानगरपालिकाका क्रियाकलापमा जनताको साथ र सहयोगको खाँचो रहेको औँल्याए । रासस  

१ हजार रुपैयाँ पकाएपछि सदनबाट सांसद गायव, हाजिरमा ४७७ सदनमा ९७ मात्रै

काठमाडौं । आवश्यक गणपुरक संख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसदको बैठक २ दिनको लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भएपनि कोरम यकिन गर्दा ९७ जना संसदमात्रै फेला परेका थिए । हाजिर गरेर ३८० सांसद वेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेन । सांसदहरुले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेवापत १ हजार रुपैयाँ भत्ता पाउँछन् । गणपुरक संख्या नपुग्दा संबैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेन । सांसदहरु हाजिर गरेर हिडिपछि महत्वपपूर्ण विधेयक पारित हुन सकेन । गोरखापत्र दैनिकबाट ।

गच्छदारको घोषणा: चुनाव जिताउने सांसदहरुलाई मन्त्री पद पुरस्कार दिने 

काठमाडौं  । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरुलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्। साउन अन्तिममा प्रदेश २ मा गरिने पार्टीको भेलाबारे तयारी गर्न बुधबार बोलाइएको पदाधिकारी बैठकमा गच्छदारले यस्तो घोषणा गरेका हुन्। सो बैठकमा सहभाभी एक नेताका अनुसार गच्छदारले आफ्नो क्षेत्रमा चुनाव जिताउने सांसदलाई मन्त्री पुरस्कार र पार्टी पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन दिएका थिए। ‘पुरस्कार भनेर पैसा दिने कुरा त गर्नु भएन तर सांसद भएकालाई मन्त्रीमा सिफारिस गर्ने र मन्त्री नभएका पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने अध्यक्षको आशय थियो,’ बैठकमा सहभागी सांसद योगेन्द्र चौधरीले भने,‘ अध्यक्षज्यूले आआफ्नो क्षेत्रमा चुनाव नजिताउने नेताहरूलाई कारबाहीस्वरूप घटुवा गर्ने पनि बताउनुभएको थियो। नागरिक दैनिकबाट ।