बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प, पाइलट पढ्न गरेको आधा अर्ब खेर

नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्ज-१३ का अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपयाँ खर्च गरे । अस्ट्रेलियामा पाइलट पढ्दै गर्दाका अभय । फोटो अन्नपूर्ण पोस्टबाट सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन भने पाएनन् । प्रारम्भिक शिक्षा नेपालगन्जमा पढेका अभयले सेन्ट जोसेफ कलेज नैनितालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट अध्ययनका लागि अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजीक्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए । अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा नेपाली ध्वजावाहक नेपाल एयरलायन्स बन्द प्राय थियो । नेपाल एयरलायन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् । ‘जागिरको खोजीमा लागें, तर पाइनँ’, अभय भन्छन्, ‘नेपाल एयरलायन्स बन्द थियो । बुद्ध र यतीमा जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट उत्पादन भएकाले जागिर नपाएको टण्डनको भनाइ छ । अहिलेजस्तो धेरै कम्पनी सञ्चालन भएको भए जागिरको समस्या नहुने उनको दाबी छ । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि अभयलाई फ्रस्ट्रेसन भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । ‘मागभन्दा आपूर्ति धेरै भयो’, उनले भने, ‘अहिलेजस्तो धेरै एयरलायन्स कम्पनी भएको भए जागिरको समस्या हुँदैनथ्यो होला ।’ पढाइको सिलसिलामा उनले २५२.४ घन्टा जहाज उडाउन अभ्यास गरेका थिए । तर, नेपाल आएपछि उनले जहाज उडाउने अवसर पाएनन् । पाइलटको लाइसेन्स अवधि ६ महिना मात्रै हुने गरेको छ । जागिर खोज्दाखोज्दै उनको ६ महिना अवधि सकिहाल्यो । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई ‘फ्रस्ट्रेसन’ समेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । व्यवसायी घरानाको व्यक्ति भएकाले उनलाई व्यवसाय सम्हाल्न गाह्रो भएन । ६ वर्षदेखि उनले नेपालगन्जको बीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पप्प सञ्चालन गरेका छन् । अहिले उनी विमान उडाउनेभन्दा पेट्रोलियम पदार्थको हिसाबकिताबमा पोख्त भएका छन् । सन २००९ देखि पेट्रोलियम व्यवसायमा रहेका अभय भन्छन्, ‘अहिले सन्तुष्ट छु, तैपनि पढेको गर्न नपाउँदा खिन्न हुन्छ, यसैभित्र सन्तुष्टि खोज्नुपर्छ ।’ नेपालजस्तो विकासोन्मुख मुलुकमा ‘ब्रेन ड्रेन’को समस्या बढी नै हुने गरेको उनको भनाइ छ । ‘पाइलट पढ्ने मात्र होइन, धेरै इन्जिनियर पनि यहाँ बेरोजगार छन्’, अभय भन्छन् । सीप भएका व्यक्तिलाई राज्यले जागिर दिन नसक्नु मुलुकका लागि दुर्भाग्य भएको उनी बताउँछन् । ‘हाम्रो जस्तो देशमा यस्तो समस्या धेरै छ, एकातिर दक्ष जनशक्ति छैनन्, भएकाले पनि काम पाएका छैनन्’, अभय भन्छन् । अभयका बुबा अजयकुमार नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव हुन् । ‘हाम्रो परिवार व्यावसायिक हो । अभयले पाइलट पढ्छु भन्यो, उसको इच्छाअनुसार पाइलट पनि पढायौं तर जागिर पाउन सकेन । त्यसपछि व्यवसायमा लगायौं अजयले भने । प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् । अन्नपूर्ण पोस्टबाट ।

लहानदेखि झापासम्म विद्युत् अवरुद्ध, भारी वर्षाले जनजीवन अस्तव्यस्त

काठमाडौं ।  केही दिनदेखिको अविरल वर्षाका कारण मध्य तथा पूर्वी तराईमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख विष्णुप्रसाद श्रेष्ठले तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाको लहानदेखि पूर्व झापासम्म विद्युत् प्रसारण अवरुद्ध भएको जानकारी दिए। उनले अविरल वर्षाका कारण प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएको हुँदा पूर्वाञ्चलका सम्पूर्ण जिल्लामा विद्युत् आपूर्ति हुन नसकेको जानकारी दिए। पानीको सतह कम नभएसम्म डुबेका सबस्टेसन तथा वितरण प्रणालीको परीक्षण सम्भव हुन नसक्ने बताउँदै उनले सम्पूर्ण परीक्षणपछि मात्र विद्युत् वितरण पुनः सुचारु हुन सक्ने स्पष्ट पारे। उनका अनुसार दमक–गोधाक खण्डको १३२ केभी लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं। १७ ढलेको, काबेली कोरिडोर अन्तर्गतको ट्रान्समिसन लाइन ढलेको, हेटौँडा सिमेन्ट कारखानानजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले सो फिडर बन्द गरिएको, दुहबी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएकाले ती स्टेसनहरू बन्द भएका छन् । त्यसैगरी चन्द्रपुर–पथलैया, ढल्केबर–चन्द्रपुर, बालाजु–त्रिशूली शुक्रबारदेखि नै सञ्चालनमा आउन नसकेको बताउँदै उहाँले नयाँ संरचनामा रक्सौल–परवानीपुर खण्डको भलुहीमाटावरनमा बाढीले क्षति पुगेको जानकारी उनले दिए। गोरखापत्र दैनिकबाट ।

राजमार्ग अवरुद्ध, राहत र उद्धारमा समेत कठिनाइ

मलेखु । पाँच दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । धादिङबेँसी–काठमाडौं यातायात पहिरोका कारण अबरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए । गजुरी गाउँपालिकाको गौदीमा,बेनिघाट रोराङगाउँपालिका अन्तर्गत जवाङमा र ज्यामिरेघाटमा आएको पहिरोले यातायत सेवा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार पृथ्वीराजमार्गको साना÷साना पहिरोको संख्या २० भन्दा बढी रहेको र सो पहिरो हटाउने कार्य भइरहेको छ । आज बिहान जोगिमाराको जावाङमा सडक माथिबाट आएको पहिरोले बा १३ च ७१४९ ना को जिपलाई पुरेपनि यात्रुभने सुरक्षित रहेका छन् । यसैगरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दूङमा पहिरो जाँदा बिचल्लीमा परेका ३४ परिवारलाई दुई दिनदेखि राहत सामग्री पु¥याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । पैदलमार्ग बाट सो स्थानमा जान तीन दिन लाग्ने र पैदलमार्ग समेत पहिरो आएर जान नसकिने भएको उद्धार तथा राहत सेवा उपलब्ध गराउन नसकिएको हो । हिन्दूङ गाउँमा ९६ घर रहेपनि ३४ परिवालाई तत्काल राहत दिनुपर्ने गरी जिल्लाविपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । रेडक्रसले अन्तर्राट्रिय गैरसरकारी संस्थाको सहयोगमा गैर खाद्यान्न सामग्री पुर्याउन तयारी गरेपछि हेलिकप्टरको अभावमा लान नसकिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति नारायण तिमल्सिनाले बताए । उत्तरी धादिङको पैदलमार्ग समेत अवरुद्ध पहिरोले उत्तरी धादिङ जोडने पैदल मार्ग अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षाका कारण पैदल मार्ग अवरुद्ध भएपछि उत्तरको झार्लाङ, लापा, सेर्तुङ र तिप्लिङमा आवतजावत बन्द भएको छ । दुई दिनअघि हिन्दूङगाउँमा खसेको पहिरोका कारण उद्धारमा कठिनाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको हिन्दूङगाउँवासी दुई दिनदेखि नै गाउँ छाडेर अन्यत्र बसेकाले राहतको प्रतिक्षामा रहेको सोही स्थानका धनसिं तामाले टेलिफोनबाट जानकारी दिए । सदरमुकामबाट हिँडेर जानेबाटोको ठाउँ-ठाउँमा पहिरो गएको छ । लपाफेदी, धार्ना, डुन्डुरे, सेर्तु, स्याम्बोफोमा पहिरोले मानिस हिँड्न मिल्ने अवस्था छैन । पहिरो गएको स्थानमा वैकल्पिक बाटो नभएको र पानी नरोकिएसम्म पैदलमार्ग बनाउन नसकिने सेर्तुका विजय तामाले बताए। रासस