पहिले गोठालोको खर्क, अहिले पर्यटकको रोजाइ बनेको दोभान
काठमाडौं । वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरविर आवाज । घरपालुवा पशुहरुको घुम्ती गोठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको दोभान मनमोहक र रमणीय छ । करिब २० वर्षअघि बगरका बासिन्दाले बर्खायाममा घुम्ती पशुगोठ राख्ने थलोमा सिमित दोभान पछिल्लो समय धौलागिरि चक्रीय पदमार्गको गन्तब्यका रूपमा विकास हुन थालेको छ । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभान पछिल्लो समय घुम्ती पशुगोठ राख्ने खर्कबाट पर्यटकीयस्थलमा रुपान्तरण भएको स्थानीयबासी लक्ष्मण घर्तीले बताए । ‘धौलागिरि चौथोको फेदबाट बगेर आउने कुनावाङ र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदी मिसिने भएकाले दोभान नामाकरण भएको यो ठाउँ केही वर्षअघिसम्म खर्कमा सिमित थियो’, उनले भने, ‘धौलागिरि हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्ग भएर म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले एकरात दोभानमा बिताउन थालेपछि पर्यटकीयस्थलका रूपमा विकास भएको छ ।’ दोभानदेखि एक दिनको पैदलयात्रापछि धौलागिरि हिमालको इटाली आधार शिविर र धौलागिरि चौथो हिमालको फेदमा रहेको कुनावाङ तालमा पुगिन्छ । गोलो आकारको कुनावाङ तालमा पातपतिङ्गर खसेमा चराले टिपेर सफा गर्दै आएको स्थानीय सोम पुनले बताए । ‘कुनावाङ क्षेत्रमा जापानी अनुसन्धानकर्ताले हिममानवको बासस्थानको पनि अध्ययन गरिरहेका छन’, उनले भने, ‘बगर हुँदै दोभान जोड्ने सडकको मार्ग खुलेपछि अझै चहलपहल बढेको छ ।’ दोभान नजिकैको पहाडमा मृग, झारल, घोरललगायत वन्यजन्तुको पनि अवलोकन गर्न पाइने पुनले बताए । बस्तीदेखि टाढा रहेको दोभान प्रकृतिमा रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य भएको आन्तरिक पर्यटक चिरन्जिवी पौडेलले बताए । बसन्तयाममा लालीगुराँस फुलेर रंगिने वनपाखामा बर्खामा बुकी फुल्दा झनै मनमोहक हुन्छ । दोभानमा पर्यटकको सुविधाका लागि दुई वटा होटल छन् । त्यहाँ ५० जना बास बस्न सक्छन् । रातो च्याउ, निगालोको टुसाका परिकारको स्वाद लिन पाइन्छ । म्याग्दीखोला जलविद्युत आयोजनाले बाँध निर्माणस्थल दोभानसम्म पहुँचमार्ग निर्माण गरेपछि त्यहाँ जिप र मोटरसाइकल पुग्न थालेका छन् । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माण स्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवत जावत र ढुवानीमा सहज भएको छ यसअघि बगरदेखि दोभान पुग्न पुरै दिन भिर, जङ्गल र खोल्साको बाटो हिड्नुपर्ने थियो । बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । पछिल्लो समय विदेशी पर्यटकले मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि चहलपहल घटेको दोभानमा यातायात सुविधा पुगेपछि आन्तरिक पर्यटक घुम्नका लागि आउन थालेका छन् ।
एमआरपी विवादपछि थन्किएका ९०० गाडी छुट्न थाले
काठमाडौं । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक्रिया सहज गराउन भन्सार विभागले पुनः सुरु गरेको छ । भैरहवा नाकामा केही दिनदेखि प्रभावित भएको आयात प्रणाली अहिले क्रमशः सहज बन्दै गएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भन्सार विन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण रोकिएको आयात प्रक्रिया विभागको नयाँ निर्णयपछि पुनः सञ्चालनमा ल्याएको हो । भन्सार विभागले आयातकर्ताले आयातित वस्तु बजारमा बिक्री-वितरण गर्नुअघि एमआरपी, ब्राण्ड, उपभोग्य मिति लगायतका विवरणसहितको लेबल टाँस्ने लिखित स्व-घोषणा गरेमा तत्कालका लागि आयात अनुमति दिन सकिने व्यवस्था गरेको छ । उक्त निर्णयपछि रोकिएका सामान छुट्ने क्रम सुरु भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विभागबाट सहजीकरण सम्बन्धी जानकारी प्राप्त भएसँगै आयात प्रक्रिया पुनः सञ्चालनमा आएको बताए । उनका अनुसार आयातकर्ताबाट भन्सार कार्यालयमै लिखित प्रतिबद्धतासहित स्व-घोषणा गराई रोकिएका सामान धमाधम छुटाइँदैछ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारीले आयातकर्ताले आफ्नो गोदाममै एमआरपी लगायतका विवरणको लेबल टाँस्न पाउनुपर्ने माग राख्दै आएको र सोही आधारमा अहिले सहजीकरण गरिएको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गत चैत ३० गतेको पत्रअनुसार वाणिज्य विभागले १५ दिने सूचना जारी गरेपछि वैशाख १४ गतेदेखि एमआरपी उल्लेख नभएका वस्तुको आयात भन्सारमै रोक्न थालिएको थियो । त्यसपछि भैरहवा नाकाबाट आयात प्रक्रिया प्रभावित बनेको थियो । आयातकर्ताले छोटो समयमा नियम लागू गरिएको, विदेशमा पहिले नै ‘अर्डर’ गरिएका सामानमा तत्काल लेबल टाँस्न नसकिने तथा कतिपय वस्तुमा भन्सार विन्दुमै एमआरपी टाँस्न व्यवहारिक कठिनाइ रहेको भन्दै आपत्ति जनाएका थिए । त्यसका कारण धेरै मालवाहक सवारीसाधन र सामान भन्सार तथा बाटोमै रोकिएको थियो । नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले अधिकतम खुद्रा मूल्य (एमआरपी) का कारण भैरहवा नाकामा ९०० भन्दा बढी मालवाहक गाडीका सामान रोकिएको बताए । एमआरपी, ब्राण्ड र उपभोग्य मिति उल्लेख गर्ने नियमका कारण विशेषगरी चीन तथा तेस्रो मुलुकबाट बढी आयात हुने विराटनगर, वीरगञ्ज, तातोपानी र केरुङ नाका बढी प्रभावित हुनसक्ने व्यवसायीको भनाइ छ । भैरहवा नाका भने भारतसँगको औद्योगिक कच्चा पदार्थ तथा दैनिक व्यापारिक आयातका लागि प्रमुख नाका मानिन्छ ।
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङसहित हल्का वर्षा
काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी तराई भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।