सरकारी सम्पत्ति लिलामी गर्ने श्रेष्ठ र उलाक पक्राउ

काठमाडौं ।  सरकारी सम्पत्ति लिलामी गर्ने दुई जना पक्राउ परेका छन् ।  स्मार्ट टेलिकम प्रालिको अनुमतिपत्र रद्द भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति बेइमानी पूर्वक लिलामी गर्ने प्रक्रियामा संलग्न थप दुईजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । काठमाडौं महानगर २ की पलिना श्रेष्ठ र पनौती नगरपालिका १२ का नरेन्द्र उलाक छन् । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ । यसअघि सीआईबीले स्मार्ट टेलिकमका पूर्व सञ्चालक सर्वेश जोशीलाई नियन्त्रणमा लिएको थियो।

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील

काठमाडौं । संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल ट्याङ्करलाई निशाना बनाई ‘निष्क्रिय’ पारेको जनाएको छ । यस घटनापछि मध्यपूर्वमा तनाव झनै बढेको छ । अमेरिकी सेनाका अनुसार शुक्रबार इरानी सेनासँग भएको गोली हानाहानपछि उक्त ट्याङ्करहरूलाई नियन्त्रण बाहिर जान नदिन कारबाही गरिएको हो । अमेरिकी सैन्य कारबाहीले ती जहाजहरूलाई सञ्चालनयोग्य नहुने अवस्थामा पुर्याएको बताइएको छ । यसैबीच, संयुक्त अरब इमिरेट्सले पनि आफ्नो क्षेत्रमा इरानबाट क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा केही व्यक्ति घाइते भएका छन् । अमेरिकी रक्षा निकायले भने होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी नौसैनिक जहाजमाथि सम्भावित आक्रमण प्रयास रोकिएको र त्यसको जवाफस्वरूप इरानी सैन्य संरचनामा प्रहार गरिएको जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नागरिक वा जहाजलाई धम्की दिए कडा जवाफ दिइने चेतावनी दिए । उनले वार्ताका लागि इरानबाट ‘गम्भीर प्रस्ताव’ अपेक्षा गरिएको पनि बताएका छन् ।  यसैबीच, इरानले अमेरिकी कारबाहीलाई युद्धविराम उल्लङ्घन भएको भन्दै कडा विरोध जनाएको छ । इरानी विदेश मन्त्रालयले अमेरिकाले कूटनीतिक समाधानको सट्टा सैन्य विकल्प रोजेको आरोप लगाएको छ । होर्मुज जलसन्धि विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । यस क्षेत्रको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पार्दै आएको छ, जसका कारण तेल मूल्यमा वृद्धि र विश्व बजारमा अनिश्चितता देखिएको छ । हाल दुवै पक्षबीच तनावपूर्ण अवस्था कायम रहेको छ र युद्धविरामलाई कायम राख्ने प्रयासहरू भइरहेका भए पनि स्थिति संवेदनशील रहेको बताइएको छ ।     

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई  हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख १२ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता ८७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २१० जनालाई कारबाही गरिएको हो ।      यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९६, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९ जनालाई कारबाही गरिएको हो ।