कानुन दिवसमा उच्च अदालत जनकपुरले भोलि न्यायिक महोत्सव आयोजना गर्दै
काठमाडौं । कानुन दिवसको अवसरमा उच्च अदालत जनकपुरले शनिबार न्यायिक महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवअन्तर्गत विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनुका साथै न्याय क्षेत्रसँग सम्बन्धित स्टलहरूको प्रदर्शन समेत गरिने अदालतले जनाएको छ । उच्च अदालत जनकपुरका कामु न्यायाधीश टेकनारायण कुँवरले कार्यक्रमअन्तर्गत बिहान ७ बजे जनकपुरधाममा प्रभातफेरि आयोजना गरिने जानकारी दिए । त्यसपछि बिहान ९ बजेदेखि जनकपुरधामस्थित निधि भवनमा औपचारिक कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, दिउँसो १ बजेदेखि न्याय, कानुन र नागरिक सरोकारसँग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम राखिएको मुख्य न्यायाधीश कुँवरले जानकारी दिए । उनका अनुसार कार्यक्रममा स्मार्ट कोर्ट, भर्चुअल हियरिङ र हेल्पलाइन सर्भिसबारे जानकारी दिइनेछ । महोत्सवमा मधेश प्रदेशका तीनवटै उच्च अदालत, आठवटै जिल्ला अदालत, सबै बार इकाई र सरकारी वकिल कार्यालयको उपस्थिति रहने जनाइएको छ । न्यायिक सचेतना अभिवृद्धि गर्ने तथा न्यायालय र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मुख्य न्यायाधीश कुँवरले जानकारी दिए ।
प्रहरी दिनेश राउतले २० हजार घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत घुस लिएको अभियोगमा प्रहरी वृत्त मालीगाँउका काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ताको मुद्दा मिलाइदिने भन्दै प्रहरी नायब निरीक्षक राउतले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले टोलीले घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, कैद सजाय र जरिवानाको माग गर्दै आयोगले मुद्दा दायर गरेको छ ।
चाँगुनारायणमा २५ लाख रुपैयाँ बराबरको सुनका गहना र नगद चोरी
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न गरगहना र नगद गरी २५ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । सो घरमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुँयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट उक्त मूल्य बराबरको धनमाल गएराति चोरी भएको केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।