भूमि प्रशासनका फाराम अब सेवाग्राही आफैंले भर्न सक्ने, १५ दिनभित्र फाराम सरलीकरण गर्न समिति गठन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज  बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ । मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयम् आफैंले लिखित फारम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो । समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फारमहरु कार्यन्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

अर्थतन्त्र उकास्न अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच के-के भयो छलफल ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी भएका थिए । उनीहरूलाई छलफलको सुरुवातमै अर्थमन्त्री डा. वाग्लेले अनुभवी र राज्यका काबिल अर्थशास्त्री भनी सम्बोधन गगरेका थिए ।  छलफलको सुरुवात गर्दै उनले भने, “तपाईहरू राष्ट्र बैंकको महत्त्वपूर्ण विभागमा बसेर काम गर्नुभएको काबिल अर्थशास्त्रीहरू हुनुहुन्छ । समग्र मुलुकको आर्थिक र वित्तीय अवस्थाबारे तपाईंहरूको ज्ञान मुलुक निर्माणको यो महत्त्वपूर्ण समयमा लगाउनुपर्नेछ ।” अर्थमन्त्री वाग्लेले थप भने, “अब मलाई सुझाउनुहोस्, वित्तीय संकट व्यहोरी रहेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई कसरी हामीले सहयोग गर्न सक्छौं ?” नयाँ बजेट कार्यान्वयनमा आएको र यसैको जगमा टेकेर आर्थिक रूपान्तरणको जग बसाउनुपर्ने भन्दै उनले त्यसका लागि अर्थतन्त्र चलायमान गराउनुपर्ने र विगतको नीतिकाकारण वित्तीय संकट झेलिरहेका नागरिक र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।  ऋण बिग्रिएर कालोसूचीमा परेका हजारौं नागरिकलाई अर्को मौका कसरी दिन सकिन्छ भन्ने उपाय सुझाउन पनि उहाँले कार्यकारी निर्देशकहरूलाई आग्रह गरे । मौद्रिक उपकरण लागू गर्ने राष्ट्र बैंकबाट स्वच्छ नियमन र लगानीमैत्री सहजीकरणबाट नै आर्थिक समृद्धिको बाटो समाउन सकिने विश्वास पनि उनले व्यक्त गरे। अर्थमन्त्रीसँगको छलफलमा खुलेर प्रस्तुत भएका कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठन भएपछि बिस्तारै बजारको आत्मविश्वास बढ्दै गएको र छिट्टै अर्थतन्त्रले लय समाउने संकेतहरू देखिएको अर्थमन्त्रीलाई बताएका छन् ।  कोभिड महामारीले पिल्सिएको अर्थतन्त्रले अझै लय समाउन नसकेको र त्यसैको मारमा परेका नागरिक र निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूलाई माथि उठाउनु चुनौतीपूर्ण रहेको उनीहरूको भनााइ थियो ।  छोटो समयमा थपिएका कालोसूचीको हजारौं संख्या र त्यसले निम्त्याएको निराशाले बजारमा प्रभाव पारेको भन्दै उनीहरूले त्यसको समाधान आवश्यक रहेको बताए । जनताको बचत रहेको वित्तीय संस्थाहरूको पूर्ण लगानी सुरक्षाको सुनिश्चितता गर्दै कालोसूचीको कलंकबाट नागरिक, उद्योगी र व्यवसायीलाई माथि निकाल्न तत्कालै केही गर्न जरुरी भएको उनीहरूको भनाइ थियो ।

वैदेशिक रोजगारीको प्रलोभनमा २४ लाख ३४ हजार ठगी, चार जना पक्राउ

काठमाडौं । आकर्षक तलब र विदेशमा राम्रो रोजगारीको प्रलोभन देखाउँदै बेरोजगार युवायुवतीबाट लाखौं रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय मनोहर मुडभरी रहेका छन् ।  उनले एक व्यक्तिलाई मौरिसस पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बाजुरा घर भई काठमाडौं बस्ने २६ वर्षीय अनिल मल्ललाई कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरिएको छ । कास्की स्थायी घर भई टोखा बस्ने ३४ वर्षीया कमला पौडेल सुनारलाई रोमानिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा साउन २० गते काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, पाँचथर घर भई काठमाडौं बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेललाई युएई पठाइदिने प्रलोभनमा ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा साउन २० गते काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै पीडितबाट रकम लिने र लामो समयसम्म पनि विदेश नपठाई सम्पर्कविहीन हुने गरेको पाइएको छ ।  उनीहरूले चार जना पीडितबाट कुल २४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।