आजको मौसमः तराईमा सफा, पहाडमा बदली र वर्षा
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज केही जिल्लामा भारी वर्षा समेत भएको छ । आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानमा, मधेश प्रदेश लगायत कोसी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागमा तातोलहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ । यसैगरी, कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सार्वजनिक सवारी साधनको नयाँ दर्तामा देशभर रोक, विद्युतीय सवारी पनि नपाइने
काठमाडौं । देशभर बढ्दो वायु प्रदूषण, तीव्र ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्तामा पूर्ण रोक लगाएको छ । यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै पर्यावरणमैत्री मानिने विद्युतीय (इलेक्ट्रिक) गुड्ने गाडीसहित कुनै पनि प्रकारका नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न निर्देशन दिएको हो । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा नागरिकको आवागमनमा दैनिक कठिनाइ उत्पन्न भएको, इन्धनको मूल्य लगातार बढेको र सडकमा सवारीको अत्यधिक चाप बढेकाले यस्तो असहज परिस्थितिलाई सम्बोधन गर्न यो कदम चाल्नुपरेको विभागले जनाएको छ । विभागले यो आकस्मिक निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा टेकेर गरेको हो, जसमा वातावरण प्रदूषण, सवारीको चाप वा सडकको स्थितिका कारण सार्वजनिक हितका लागि आवश्यक देखिएमा विभागले सवारी दर्ता रोक्न सक्ने कानुनी व्यवस्था छ । सार्वजनिक सवारी साधनको क्षेत्रलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यका साथ लागू गरिएको यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि तत्कालै लागू हुने स्पष्ट पारिएको छ ।
ऋण खोजेर बिउ किनेका सोवितको कथा
सन्तोष गौतम काठमाडौं । ३० वर्षअघि साथमा १०० रुपैयाँ नभएर तरकारीको बिउ किन्न नसकेका बेनी नगरपालिका-२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । ‘ऋण खोजेर १५० रुपैयाँको बिउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने,’ शर्मा सम्झिन्छन्, ‘भदौमा प्रतिकिलो दुई रुपैयाँमा पनि नबिकेको काउली बन्दा जमिनमै पुरेर त्यसैमा लगाएको सागले काउली बन्दाको समेत लगानी उठायो ।’ अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि ३ रोपनी जमिनबाट सुरु गरेको तरकारी खेतीले आफ्नो र परिवारको आर्थिक हैसियतमा ठूलो सुधार ल्याएका शर्माले नाम र दाम कमाएका छन् । व्यावसायिक कृषि पेसाबाट सफलता पाएका औँलामा गन्न सकिने किसान भएको म्याग्दीमा शर्माको नाम अग्रपङ्क्तिमा आउँछ । आफू उद्यमी बन्नुका साथै अरु धेरैका लागि प्रेरणाको स्रोत बनेका शर्माले आफ्नै परिश्रम र मिहिनेतबाट मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी र करिब ५० हजार बचत गर्छन् । छोरीलाई हेल्थ असिस्टेन्ट पढाएर विदेश पठाएका र छोरालाई पोखरामा स्नातकोत्तर पढाइरहेका सापकोटाले तरकारी र केरा खेतीबाट भएको कमाइले खबरामा पक्की घर बनाउनुका साथै पोखराको लेखनाथमा घडेरी किनेको बताए । तरकारी बेचेर कमाएको २ लाखबाट खबराको दारिम्पाटामा खरिद गरेको सात रोपनी पहिरोले पुरिएको पाखोलाई थप १६ लाख रुपैयाँ खर्चेर पहिरो पन्छाउने र चक्लाबन्दी गरे । ‘बारीको बीच भागमा चारवटा टनेल र खुला जमिनमा तरकारी तथा डिल र कुनामा केरा लगाएको छु’, शर्माले भने, ‘गँड्यौलाबाट तयार पारेको ‘भर्मी कम्पोस्ट’ मल, रासायनिक विषादीको विकल्पमा गहुँत प्रयोग गरी प्राङ्गारिक विधिबाट खेती गरेको छु ।’ पाखोबारी अहिले हराभरा कृषि फार्म बनेको छ । परागशेचनका लागि १० घार मौरी पालेका शर्माले रोहोटे र खबरामा रहेको पुर्ख्यौली ३८ रोपनी जमिनमा हजारी जातको केरा, कागती र डालेघाँस खेती गरेका छन् । शर्माले उत्पादन गर्ने केरा, गोलभेँडा, धनियाँ, खुर्सानी, साग, काँक्रो, सिमी, घिरौँला, फर्सीलगायत मौसमी र बेमौसमी तरकारी सदरमुकाम बेनीबजार नजिकै भएकाले बिक्रीको समस्या छैन । सोवित तीन वर्षको हुँदा बुबा भवदत्तको छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा जलेर निधन भयो । आमा सेतिले खेती किसानी गरेर दुई दिदी र बहिनीसँगै हुर्काएका सोवित पारिवारिक बाध्यताले १० कक्षामा पढ्दै गर्दा काम खोज्दै भारत पुगे । केही वर्ष भारतको दिल्लीमा भौतारिँदा आफ्नो र घरको आर्थिक अवस्थामा सुधार हुन नसकेपछि गाउँ फर्किएका सोवितले धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रबाट तालिम लिएपछि धानको विकल्पमा तरकारी खेती गर्न माटोसँग मितेरी गाँसे । धान रोप्न छोडेर तरकारी खेती गरेको सुनेर सोवितलाई घरमै भेट्न पुगेका तत्कालीन कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत हेम शर्मा तिवारीको प्राविधिक सल्लाह र सहयोगले उत्साह बढ्यो । श्रीमती देवी बिरामी भएर उपचार गराउँदा लागेको ऋण तिर्न र देशमा चर्किँदै गएको द्वन्द्वका कारण सप्रिँदै गरेको तरकारी खेती श्रीमती र आमालाई जिम्मा लगाएर २०६१ सालमा मलेसिया पुगेका शर्माले त्यहाँको इलेक्ट्रोनिक कम्पनीका मालिकबाट प्रभावित भएर चार वर्षपछि घर फर्किएर पुनः तरकारी खेतीमै जोडिए । ‘मलेसियाको कमाइले ऋण तिरेँ । र, केही पैसा बचत पनि गरेँ’, शर्माले भने, ‘देशमा शान्ति प्रक्रिया सुरु भएकाले आमा र श्रीमतीले निरन्तरता दिएको तरकारी खेतीलाई थप व्यावसायिक बनाउने र उद्यम व्यवसाय गर्ने वातावरण भयो ।’ आफ्नो सफलताको पछाडि आमा, श्रीमती र छोराछोरीको राम्रो साथ रहेको सापकोटा बताउँछन् । दिन, साँझ र बिहान माटोसँगै खेलेर बिताउने उनको फार्ममा परिवारका सदस्यबाहेक अन्य तीन जनाले रोजगारी पाएका छन् । ‘पहिला गुजारा चलाउन गाह्रो थियो, दुईचार हजार आवश्यक पर्दा ऋण खोज्नुपर्ने अवस्था थियो’, सोवितकी श्रीमती देविले भनिन्, ‘हामीलाई अहिले यो अवस्थामा ल्याएको तरकारी खेतीले हो ।’ २०७२ मा तत्कालीन कृषि विकास कार्यालयबाट पहिलोपटक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका सोवितले कृषि मेलामा सहभागी भएर थुप्रै पुरस्कार पनि हात पारेका छन् । बेनी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, विभिन्न संघसंस्थाबाट उनले तालिम र अनुदान सुविधा पनि पाएका छन् । आफ्नो व्यवसायसँगै कृषकसँग सम्बन्धित विभिन्न संघसंस्था र समूहमा आबद्ध सापकोटा कृषकलाई जैविक खेती प्रविधि सिकाउन एकीकृत कृषक पाठशालाको सहजीकरण गर्न जिल्लाभरका किसानको करेसाबारीमा पुग्छन् । खबरामा व्यावसायिक तरकारी खेती सुरु गर्नेमा शर्मा र चन्द्रबहादुर घिमिरे हुन् । उनीहरूको मिहिनेत र सफलताबाट प्रभावित भएर खबराका धेरै किसान व्यावसायिक तरकारी र केरा खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका– २ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । डेढ सय घरपरिवारको बसोबास रहेको खबराका करिब २५ जनाले व्यावसायिक तरकारी खेती गरेका छन् । पूरै गाउँको आयस्रोत केरा खेती बनेको छ । उनीहरूले उत्पादन गरेको तरकारी र केरा बेनीबजारमा खपत हुन्छ । किसानले उत्पादन लागत पहिचान गर्न नसक्नु, कामदार र सिँचाइ अभाव व्यावसायिक कृषिका लागि मुख्य चुनौती भएको सापकोटाको अनुभव छ । पछिल्लो समय केराको गाना कालो र टुप्पोका पात पहेँलो हुँदै सुक्ने समस्या चुनौतीका रूपमा देखिएको छ । प्राङ्गारिक विधिबाट तरकारी खेतीलाई निरन्तरता दिँदै नमुना कृषि फार्म बनाउने सापकोटाको योजना छ । रासस