फरार जिबी, संकटमा टेलिभिजन

काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गर्दै आएको ग्यालेक्सी फोरके टेलिभिजनले काठमाडौं महानगरपालिकाको भवनको भाडा नतिरेपछि महानगरले बक्यौता असुली प्रक्रिया अघि बढाएको छ । काठमाडौं महानगरपालिका–३ का मृगेन्द प्रसाद मिश्रको घरजग्गामा सञ्चालित गोर्खा मिडिया नेटवर्कले लामो समयदेखि घरभाडा नतिरेको भन्दै महानगरले १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । महानगरले बक्यौता रकम असुल गर्न टेलिभिजनका सामान लिलामी बिक्री गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । महानगरले गितेन्द्रबाबु राई (जीबी राई) लाई प्रतिवादी बनाएर सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार वडा कार्यालयको मेलमिलाप तथा न्यायिक समितिको निर्णयपछि गोर्खा मिडिया नेटवर्कबाट भाडा उठाउन पटक–पटक ताकेता गरिएको थियो । तर कम्पनीले बहाल रकम नतिरेपछि कार्यालयमा रहेका सामग्री बिक्री गरेर असुलउपर गर्ने निर्णय गरिएको उल्लेख छ । सूचनामा टेलिभिजन सञ्चालनमा प्रयोग भएका टेलिभिजनका उपकरण तथा अन्य सामग्री बिक्री गरिने उल्लेख गरिएको छ । महानगरले १५ दिनभित्र सम्बन्धित पक्षलाई आफ्नो दाबी वा प्रमाणसहित उपस्थित हुन पनि आग्रह गरेको छ । तोकिएको अवधिमा कोही सम्पर्कमा नआए प्रचलित कानुनअनुसार सामान बिक्री गरी बक्यौता असुल गरिने महानगरको चेतावनी छ । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष रहेका जीबी राई सहकारी ठगी प्रकरणपछि विवादमा तानिएका बेला कम्पनीअन्तर्गत सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनको आर्थिक अवस्था थप संकटमा परेको देखिएको छ । महानगरको पछिल्लो सूचनाले टेलिभिजनको घरभाडासमेत तिर्न नसकेको अवस्था सार्वजनिक भएको हो । हाल राई फरार छन् ।   

प्रधानमन्त्री बालेनले विभिन्न देशका कूटनीतिज्ञसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली सङ्घ (इयु) अन्तर्गतका विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग मंगलबार  सामूहिक भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ः३० बजे हुने उक्त भेटघाट हुने जनाइएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भेटका क्रममा नेपालको समसामयिक प्राथमिकताबारे जानकारी आदानप्रदान हुने बताइन् । साथै नेपाल र सम्बन्धित मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी सहकार्यका सम्भावित क्षेत्रबारे पनि छलफल हुने कार्यक्रम रहेको उनले जानकारी दिइन् । यसअघि पनि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक संवाद गरेका थिए । 

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।   बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३,  तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।