गुल्मीमा हावाहुरीको वितण्डा, ८२ भन्दा बढी घरगोठ र संरचनामा क्षति
काठमाडौं । गुल्मी जिल्लाका विभिन्न स्थानीय तहमा आएको हावाहुरीका कारण ८२ भन्दा बढी घर, गोठ तथा अन्य संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार मानवीय तथा पशुचौपाया क्षति भने नभएको जनाइएको छ । जिप्रका गुल्मीका कामु सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत कुमार केसीले सबैभन्दा बढी क्षति मालिका गाउँपालिकामा भएको जानकारी दिए । उनका अनुसार त्यहाँमात्रै ६६ वटा घरगोठ तथा संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छ । यस्तै, मदाने गाउँपालिकामा ९, मुसिकोट नगरपालिका मा ३, छत्रकोट गाउँपालिकामा १ र इस्मा गाउँपालिकामा ३ वटा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण पाँचवटा विद्यालय तथा शैक्षिक संस्था पनि प्रभावित भएका छन् । प्रभावित विद्यालयमध्ये मालिका गाउँपालिकामा ३ वटा, छत्रकोट गाउँपालिकामा १ वटा र इस्मा गाउँपालिकामा १ वटा विद्यालयमा क्षति पुगेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रको थप विवरण संकलन तथा क्षतिको मूल्यांकन गरिरहेको जनाएका छन् । प्रभावित घरपरिवारलाई आवश्यक सहयोग तथा राहत व्यवस्थापनका लागि स्थानीय तह सक्रिय रहेको प्रशासनको भनाइ छ ।
भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धि : दिल्लीमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघ्यो
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतमा इन्धनको मूल्यमा पुनः वृद्धि गरिएको छ । पछिल्लो १० दिनको अवधिमा भारतीय तेल कम्पनीहरूले इन्धनको मूल्य बढाएको यो चौथो पटक हो । पछिल्लो मूल्य समायोजनअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २.७ देखि २.८ भारतीय रुपैयाँसम्म वृद्धि भएको छ । गत मे १५ देखि हालसम्म भारतमा इन्धनको मूल्यमा कुल ७.५ रुपैयाँले वृद्धि भइसकेको छ । सोमबारको उल्लेख्य मूल्य वृद्धिसँगै भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०० भारतीय रुपैयाँको बिन्दु नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगो भएपछि भारतीय घरेलु तेल कम्पनीहरूले सो लागतको भार उपभोक्तामा हस्तान्तरण गर्दा मूल्यमा उच्च वृद्धि भएको हो ।
चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि महत्वाकांक्षी ‘मून बेस’ योजनाको खाका सार्वजनिक गरेको छ । ‘आर्टेमिस’ अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो । वासिङ्टनस्थित नासाको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिहरू सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रश्तुत गरेका थिए । नासाका अनुसार मून बेस परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरणः सन् २०२९ सम्म सञ्चालन हुने यस चरणमा रोबोटिक अन्वेषण र आवश्यक प्रविधिहरूको परीक्षण गरिनेछ । दोस्रो चरणः सन् २०२९ देखि २०३२ सम्मको यस अवधिमा प्रारम्भिक आवास प्रणालीका साथै ऊर्जा र सञ्चार पूर्वाधारहरूको स्थापना गरिनेछ । तेस्रो चरणः सन् २०३२ पछि शुरु हुने यस चरणमा चन्द्रमामा स्थायी रूपमा मानव उपस्थिति कायम गर्ने र चन्द्रमामा उपलब्ध स्रोत–साधनहरूको उपयोगका लागि प्रविधिलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ । चन्द्रमाको दक्षिणी ध्रुवलाई लक्षित क्षेत्रका रूपमा छनोट गर्नुको मुख्य कारण त्यहाँ लामो समयसम्म प्राप्त हुने सूर्यको प्रकाश हो। यसले सौर्य ऊर्जा उत्पादनमा सहजता ल्याउने र सतहमा सञ्चालन हुने कार्यहरूका लागि स्थिर तापीय अवस्था प्रदान गर्ने नासाको भनाइ छ । वैज्ञानिक दृष्टिकोणले पनि यो क्षेत्र अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । यो क्षेत्र सौर्यमण्डलकै सबैभन्दा पुरानो भू–भाग र ठूलो ‘इम्प्याक्ट बेसिन’ को नजिक अवस्थित छ । यहाँबाट संकलन गरिने नमूनाहरूले चन्द्रमा र पृथ्वीको प्रारम्भिक इतिहासका साथै सौर्यमण्डलको विकासक्रमबारे नयाँ तथ्यहरू उजागर गर्ने अपेक्षा गरिएको छ । नासाकाअनुसार यो मून बेस विज्ञान, प्रविधि प्रदर्शन र अन्वेषणको प्रमुख केन्द्र बन्नेछ । यसले भविष्यका गहिरो अन्तरिक्ष अभियानहरूका लागि आवश्यक प्रविधि विकास गर्न मद्दत गर्नुका साथै उदीयमान चन्द्र–अर्थतन्त्रलाई समेत प्रोत्साहन गर्नेछ । यस वृहत परियोजनाको सफल कार्यान्वयनका लागि व्यावसायिक साझेदारहरू र अन्तर्राष्ट्रिय सहयोगीहरूको भुमिका निर्णायक हुने नासाले स्पष्ट पारेको छ ।