डीडीसीले किसानको भुक्तानी ७२ करोडबाट ३५ करोडमा झार्‍यो

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको नेतृत्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले आक्रामक बजारीकरण तथा संस्थानमा मौज्दात रहेको दुग्धजन्य पदार्थको खपत बढाएर कृषक भुक्तानीको बक्यौता घटाएको जनाएको छ । संस्थानका अनुसार पछिल्लो तीन महिनामा कृषकलाई भुक्तानी गर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा सीमित गर्न सफल भएको छ । यसअघि सात महिनासम्मको भुक्तानी अवधि पुगेकोमा अहिले त्यसलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको संस्थानले जनाएको छ । बाँकी भुक्तानी अवधि थप घटाएर एक महिनामा ल्याउने लक्ष्यसहित काम भइरहेको जनाइएको छ । संस्थानमा मौज्दात रहेको ६ सय मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखनको खपत बढाएर बिक्री आम्दानी वृद्धि गरिएको संस्थानले जनाएको छ । त्यस्तै, दैनिक बिक्री आम्दानी ६० लाख रुपैयाँबाट बढाएर ९० लाख रुपैयाँ पु¥याउन सफल भएको बताइएको छ । बिक्रीबाट प्राप्त थप आम्दानी शतप्रतिशत कृषक भुक्तानीमा प्रयोग गरिएको संस्थानको दाबी छ । संस्थानका अनिवार्य खर्चबाहेक अन्य खर्चमा कटौती गर्दै कृषक भुक्तानीलाई प्राथमिकतामा राखिएको जनाइएको छ । निजी क्षेत्रसँगको समन्वयमा काठमाडौं उपत्यकामा आठवटा छुट्टै बिक्री केन्द्रसमेत सञ्चालनमा ल्याइएको संस्थानले जनाएको छ । त्यस्तै, लामो समयदेखि बाँकी रहेको रकम असुलीलाई कडाइका साथ अघि बढाउँदै बक्यौता रकम उठाइएको संस्थानको भनाइ छ । कर्मचारीलाई दिइँदै आएको सहुलियत दूध तथा घ्यूको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ थप बचत गरिएको जनाइएको छ । संस्थानका अनुसार यस अवधिमा नेपाल सरकारबाट कुनै किसिमको सहुलियतपूर्ण कर्जा वा अनुदान लिइएको छैन। संस्थानको आन्तरिक सुधार, खर्च नियन्त्रण तथा आक्रामक बजारीकरणबाट प्राप्त आम्दानीमार्फत नै कृषक भुक्तानीलाई सहज बनाइएको संस्थानले जनाएको छ ।

बुटवल धागो कारखानाले माग्यो सबै दाबी, २१ दिनपछि उजुरी नलाग्ने

काठमाडौं । बुटवल धागो कारखाना लिमिटेडले उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आफ्नो दाबी पेश गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार उद्योगमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनसम्बन्धी कार्य गरिरहेको कारखानाले जनाएको छ । कारखानाले सार्वजनिक गरेको सूचनाअनुसार उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाको लेनदेन तथा कारोबार, अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णयबमोजिम लिनुपर्ने वा दिनुपर्ने रकमलगायतका विषयमा कुनै दाबी भए प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र पेश गर्नुपर्नेछ । त्यस्तै, उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका व्यक्ति तथा संस्थालाई समेत तोकिएको अवधिभित्र सम्पर्क गर्न कारखानाले आग्रह गरेको छ । तोकिएको २१ दिनभित्र कुनै दाबी पेश हुन नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने र त्यसपछि उद्योगउपर कुनै दाबी नलाग्ने कारखानाले जनाएको छ ।

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् भने केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पपछि कोलम्बिया सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ । कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्प जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा गएको बताइएको छ । अमेरिकी भू-गर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सान होसे डेल पाल्मारबाट करिब ३ माइल पूर्व र राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको थियो ।