काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम तीन कम्पनीलाई फरक–फरक अवधिका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयले साउन २५ गते गरेको निर्णयअनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन् ।
कार्यालयका अनुसार टोखा नगरपालिका काठमाडौंको सिफारिसमा टोखा-८, काठमाडौंस्थित स्पेक्स नेपाल प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति प्रदीप केसी रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, सडक डिभिजन डोटीको सिफारिसमा गोकर्णेश्वर नगरपालिका-८, काठमाडौंस्थित रविप्रकाश सिंहको जे.डी.एम.आर. बिल्डर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा भारतको हैदराबादस्थित एम/एस सृष्टि कन्क्टेक प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्तिमा राजशेखर रेड्डी र स्मिता शुक्ला रहेको कार्यालयले जनाएको छ ।