८ करोडभन्दा बढी हिनामिनाको आरोपमा कर्मा छेरिङ शेर्पा पक्राउ

काठमाडौं । विद्यालयको करोडौं रुपैयाँ हिनामिना गरेको तथा सम्पत्ति दुरुपयोग गरेको आरोपमा कर्मा छेरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६, गणेशचोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।  सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार शेर्पाविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो ।  शेर्पाले विद्यालयको कार्यकारी प्रमुखका रूपमा एकल हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने जिम्मेवारी सम्हालेका बेला आफ्नो पदको दुरुपयोग गर्दै विद्यालयको सम्पत्ति र रकम विभिन्न प्रपञ्चमार्फत हिनामिना गरेको आरोप छ ।  सीआईबीका अनुसार उनले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी विद्यालयको करिब ८ करोड ७८ लाख ३० हजार ८०२ रुपैयाँ हिनामिना गरेको, भक्तपुरको दधिकोटस्थित विद्यालयको करिब २९ रोपनीभन्दा बढी जग्गा आफू सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेको तथा विद्यालयका लागि छुट्याइएको रकमबाट व्यक्तिगत तथा आफू सम्बद्ध कम्पनीका नाममा जग्गा र सवारीसाधन खरिद गरी संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोप लगाइएको छ । सीआईबीले शेर्पालाई पक्राउ गरी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्ति तथा आर्थिक कारोबारबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

भेनेजुएला भूकम्प: मृतकको संख्या ५८९ पुग्यो, घाइते २९८०

काठमाडौं । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबारको भूकम्पबाट मृत्यु भएकाको संख्या ५८९ पुगेको र २ हजार ९८० जना घाइते भएको बताएकी छन् ।  रोड्रिगेजले भूकम्पबाट सबैभन्दा बढी पीडित क्षेत्रमध्ये एक ला गुएरालाई नियन्त्रणमा लिन सेनालाई आदेश पनि दिएका छन् । बीबीसीका अनुसार अस्पतालहरू घाइतेले भरिएका छन् ।   संयुक्त राष्ट्रसंघले घटनास्थलमा १ हजारभन्दा बढी अन्तर्राष्ट्रिय खोज तथा उद्धारकर्मी खटाइएको बताएको छ । संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भनेका छन्, ‘म भेनेजुएलाका मानिसहरूलाई मद्दत आउँदै छ भन्ने जानकारी गराउन चाहन्छु । ’ स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा सुरुमा ७.२ म्याग्निच्युड र यसको केही सेकेन्डपछि अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प गएका थिए ।  भूकम्प गएलगत्तै अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको अनुमान गरेको थियो ।  स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।

रास्वपाको नयाँ नेतृत्वले लियो शपथ, महाधिवेशनपछि पाटीले समात्यो नयाँ गति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  महाधिवेशनस्थलमै आयोजित विशेष समारोहमा नवनिर्वाचित नेतृत्वले शपथ लिएसँगै रास्वपाले औपचारिक रूपमा नयाँ नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेको हो ।  महाधिवेशनबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भएका थिए भने खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन् ।  निर्वाचनमार्फत महिलातर्फ उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह विजयी भएका छन् । महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन् ।  महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएको थियो भने दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदान भएको थियो ।  शपथग्रहणसँगै रास्वपाको नयाँ नेतृत्वले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण र राजनीतिक जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन र शपथग्रहण सम्पन्न भएपछि रास्वपाले आफ्नो संगठनात्मक यात्रामा नयाँ अध्याय सुरु गरेको छ ।