पत्रकार किशोर श्रेष्ठलाई म्याद थप गर्न लैजाँदै प्रहरी
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लैजाने तयारी गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले श्रेष्ठलाई म्याद थप गर्नका लागि अहिले डकुमेन्टेन्सनको काम भइरहेको जानकारी दिए । ‘उहाँलाई आज म्याद थप गर्न लैजानैपर्छ,’ उनले भने । बुधबार साँझ ललितपुरस्थित निवास छेउबाट श्रेष्ठ पक्राउ पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डकमका प्रधान सम्पादक पनि हुन् । श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ । प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाएको हो । उनलाई परिसरको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डटकमका अध्यक्ष हुन् ।
पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले ललितपुरस्थित निवास छेउबाट पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई परिसरको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डकमका प्रधान सम्पादक पनि हुन् । श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ । प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाइएको हो । यसैबीच, प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीले पनि पत्रकार श्रेष्ठविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएकी छन्। जनआस्थाको सामाजिक सञ्जाल पेजबाट सुध्रिनुस् म्याडम, अझै समय छ भन्ने आपत्तिजनक थम्बनेल र तस्बिर प्रयोग गरी भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै उनले काउन्सिलमा छानबिनको माग गरेकी हुन् । उक्त सामग्रीले आफ्नो पद, प्रतिष्ठा, चरित्र र सामाजिक मर्यादामा गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै उपसभामुखले पत्रकारिता आचारसंहिता र प्रचलित कानुन बमोजिम कडा कारबाहीको माग गरेकी छन् ।
काठमाडौंमै पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने, दिल्ली धाउनुपर्ने सास्ती हट्ने
काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले उक्त निर्णयको स्वागत गर्दै नेपाल तथा पोर्चुगल सरकारप्रति खुसी व्यक्त गरेको छ । नेपाल सरकारको मंगबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो । निकट भविष्यमा नै कार्यालय सञ्चालनमा आउने अपेक्षा गरिएको एनआरएनए पोर्चुगलले जनाएको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले जारी गरेको विज्ञप्तिमा काठमाडौंमै पोर्चुगलको कन्सुलर कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीलाई विभिन्न कन्सुलर सेवा लिन सहज हुने उल्लेख गरिएको छ । विशेषगरी पारिवारिक पुनर्मिलन, भिसा तथा अन्य कन्सुलर सेवाका लागि हाल भारतको नयाँ दिल्लीसम्म पुग्नुपर्ने बाध्यता कम हुने संघको विश्वास छ । नयाँ सरकार गठन भएपछि काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापनाका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल अघि बढाइएको थियो । सोही क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका राज्य तथा विदेश मामिलामन्त्री पाउलो राङ्गेलसँग टेलिफोन संवाद गरी कन्सुलर कार्यालय स्थापनालगायतका विषयमा कुराकानी गरेका थिए । नेपाल सरकारको अनुरोध तथा त्यसपछिका कूटनीतिक पहलपछि पोर्चुगल सरकारले काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । एनआरएनए पोर्चुगलले यसलाई पोर्चुगलमा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । नेपाल र पोर्चुगलबीच १ सेप्टेम्बर १९७६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लामो समयसम्म नेपालले पोर्चुगलमा आवासीय दूतावास स्थापना नगरेका कारण पोर्चुगलसम्बन्धी नेपाली कूटनीतिक जिम्मेवारी पेरिसस्थित नेपाली दूतावासले सम्हाल्दै आएको थियो । नेपाल सरकारले सन् २०२५ मार्चमा लिस्बनमा आवासीय नेपाली राजदूतावास स्थापना गरेको थियो । लिस्बनमा स्थापना भएको नेपाली दूतावासका पहिलो आवासीय राजदूत प्रकाशमणि पौडेल हुन् । दूतावासको औपचारिक उद्घाटन भने २० फेब्रुअरी २०२६ मा परराष्ट्र सचिव अमृतबहादुर रायको पोर्चुगल भ्रमणका क्रममा गरिएको थियो । यससँगै नेपाल-पोर्चुगल सम्बन्ध थप संस्थागत र प्रत्यक्ष बनेको एनआरएनए पोर्चुगलको भनाइ छ । पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि ६० हजारभन्दा बढी नेपाली रहेको अनुमान नेपाली दूतावासले गरेको छ । ठूलो संख्यामा नेपाली समुदाय रहेको पोर्चुगलका लागि काठमाडौंमै पोर्चुगलको कन्सुलर सेवा सुरु हुनु महत्वपूर्ण कदम भएको एनआरएनए पोर्चुगलले जनाएको छ । काठमाडौंमा कन्सुलर कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीले सेवा लिन भारतको नयाँ दिल्लीसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने तथा समय र आर्थिक खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ ।